मधेश प्रदेशमा भागबण्डा मिलाउँदै दलहरु

  डेटूडे खबर डेस्क
  ०१ माघ २०७९

                            

जनकपुरधाम । मधेश प्रदेशमा संख्यात्मक रुपमा मन्त्रालयको बाँडफाँट टुंगिएसँगै मन्त्रीहरुको नाम पनि दलहरुले चयन गरेका छन् ।
मुख्यमन्त्री सहित ३ मन्त्रालय पाएको जनता समाजवादी पार्टीले सरोज कुमार कुशवाहा र राजु गुप्तालाई मन्त्री बनाउने भएको छ । पूर्व आन्तरिक मामिला तथा कानून राज्यमन्त्री रहेका कुशवाहा दोस्रो पटक महोत्तरीबाट निर्वाचित भएका हुन् ।
सिरहाका गुप्ता भने पहिलो पटक प्रदेश सभा सदस्य निर्वाचित भएका छन्। गुप्ताको स्थानमा पर्सा जिल्लाका रामसिंहासन कलवारको संभावना पनि रहेको देखिन्छ ।
कलवार पनि दोस्रो पटक निर्वाचित भएका हुन् । संघीय सरकारमा पर्साबाट प्रदीप यादव मन्त्रीको सूचीमा परे कलवारको नाम हट्ने छ । जसपाबाट सर्लाहीका सञ्जय कुमार यादवले शपथग्रहण गरिसकेका छन् । उनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने निश्चित प्रायः छ । जसपाबाट धनुषाकी ममता मण्डल राज्यमन्त्री हुने संभावना रहेको छ ।
सरकारमा गठबन्धनको प्रमुख घटक नेकपा एमालेबाट प्रमुख सचेतक सरोज कुमार यादवले मन्त्रीको शपथग्रहण गरिसकेका छन् । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने निश्चित नै छ ।

एमालेको विद्यार्थी राजनीतिबाट उदाएका यादव महोत्तरी जिल्लाबाट पहिलो पटक निर्वाचित भएका हुन् । एमालेबाट मन्त्री हुनेमा सप्तरी जिल्लाका राजकुमार लेखी, सिरहा जिल्लाका सत्रुधनसिंह कोइरी र मो.समिरको संभावना बलियो छ ।
सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भए एमालेको भागमा कुल ३ मन्त्रालय मात्र हुनेछ ।
एमालेले ३ मन्त्रालय पाउँदा शपथग्रहण गरिसकेका मन्त्री यादव, लेखी र कोइरीको संभावना बलियो रहेको बताइएको छ । एमालेको भागमा एक राज्यमन्त्री पनि पर्ने संभावना छ ।
जनमत पार्टीबाट २ जना मन्त्री र एकजना राज्यमन्त्री हुनेछ । सो पार्टीका उपाध्यक्ष समेत रहेका वसन्त कुशवाहा मन्त्रीको शपथ लिइसकेका छन् ।
अर्को मन्त्री र राज्यमन्त्रीको नाम अन्तिम समयमा अध्यक्ष सी के राउतले सार्वजनिक गर्ने बताइएको छ । माओवादी केन्द्रमा आन्तरिक विवाद रहेको कारण मन्त्रीको टुंगो लागिसकेको छैन् ।
तर माओवादीको भागमा एकजना मन्त्री र एकजना राज्यमन्त्री परेको छ । दलका नेता भरत प्रसाद साहले सरकारमा नेतृत्व गर्ने संभावना रहेको बताइन्छ ।

लोसपाबाट पनि एकजना मन्त्री हुने संभावना छ । स्रोतका अनुसार लोसपाबाट रानी शर्मा मन्त्रीको सूचीमा अगाडि रहेकी छन् । शर्मा महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेश सभामा दोस्रो पटक निर्वाचित भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट