मुखियापट्टीका अध्यक्ष यादवले कर्मचारीमाथि कुटपिट गरेको आरोप

डेटूडे खबर डेस्क
२६ माघ २०७९
जनकपुरधाम । मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्षले कर्मचारीमाथि कुटपिट गरेको आरोप लगाइएको छ ।
गाउँपालिका अध्यक्ष जयकुमार यादवले सोही गाउँपालिकामा कार्यरत अधिकृत छैठौं तहका कर्मचारी श्रवण कुमार यादव र सहायक आन्तरिक लेखा परीक्षक नविन कुमार साहमाथि हातपात गरेको आरोप लगाइएको हो।
विगत एक महिनादेखि हाजिरी गर्न नदिइएको विषयलाई लिएर गाउँपालिकाको कार्यालयमा विवाद भएपछि अध्यक्ष यादवले हातपात गरेको कर्मचारीहरुको आरोप रहेको छ ।
कर्मचारीद्वय साह र यादवले आफूहरुलाई विगत एक महिनादेखि गाउँपालिकाको कार्यालयमा हाजिरी गर्न नदिई अध्यक्ष यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत राम पुकार दासले मनोमानी गर्दै आइरहेको आरोप लगाएका छन्।
लेखा परीक्षक साहले बुधबार गाउँपालिका अध्यक्ष यादवसहित निमित्त प्रमुख प्रशासकीय दास र एकजना कार्यपालिका सदस्यका पति लक्ष्मी यादव तथा अध्यक्ष यादवका बाउन्सर बहेरा बेला बस्ने भरत महतोले आफूहरुमाथि कुटपिट गरेको बताका छन् ।
गाउँपालिका अध्यक्ष यादवले मनोमानी तरिकाले कार्यालयको हाजिरी रजिष्टर आफ्नो कार्यकक्षमा राखेको र उनको अगाडि पछाडि गर्ने कर्मचारीलाई मात्रै हाजिरी गर्न दिइएको कर्मचारी साहले दाबी गरे। उनले बुधबार आफूहरु हाजिरी गर्न जाँदा हाजिरी गर्न नदिएर उल्टै आफूहरुमाथि हातपात गरेको गुनासो सुनाए।
अधिकृत यादव सो गाउँपालिकामा विगत १ वर्षदेखि र लेखा परीक्षक साह विगत ४ महिनादेखि कार्यरत रहेका छन्। उनीहरुले आफूहरुलाई अध्यक्ष यादवले काम नै गर्न नदिएको भनी दुःख व्यक्त गरे।