गाई गोरुमा ‘लम्की स्किन’ नामक रोग देखा परे
न्यूज डेस्क
२७ वैशाख २०८०
(डेटूडे खबर), म्यागदी।
म्याग्दीमा पालिएका गाईगोरुमा ‘लम्की स्किन’ रोग देखिएको छ । देशका विभिन्न स्थानमा महामारीका रुपमा फैलिएर पशुधनको क्षति गरेको ‘लम्की स्किन’ म्याग्दीमा पनि भित्रिएको हो ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले रघुगङ्गा गाउँपालिकाको पाखापानी, झिँ, अन्नपूर्णको हिस्तान दोसल्ले, मङ्गलाको खुम्ल्याह र धवलागिरि गाउँपालिकाको मुनामा लम्की स्किन देखिएको बताए ।“कृषकले जानकारी गराएपछि गोठमा पुगेर बिरामी गाईगोरुको नमूना सङ्कलन गरी पोखरास्थित पशु रोग प्रयोगशालामा पठाएका थियौँ”, उनले भने, “प्रयोगशालाले लम्की स्किन भएको पुष्टि गरेको छ । कृषकलाई सतर्कता अपनाउन र लम्की स्किनविरुद्धको खोप लगाउन अनुरोध गरेका छौँ ।”गाईलाई ज्वरो आउने र शरीरमा फोका देखापर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका कृषकले बतएका छन् । पाखापानी औलाका हुमबहादुर पुनले बर्खेबाली लगाउने बेलामा गोरु मर्दा समस्या भएको बताए । उनका अनुसार करिब एक महिनायता म्याग्दीका विभिन्न स्थानमा लम्की स्किनको समस्या देखिएको छ । यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ । साथै झिँगाबाटसमेत यो रोगको सङ्क्रमण बढ्ने बताइएको छ ।यो रोगको उपयुक्त औषधि नभए पनि खोप पहिचान भएको छ । ठूला फार्म र गोठमा लम्की स्किन भित्रिन नदिन खोप लगाउन थालिएको बेनी नगरपालिका–७ का कृषक कृष्ण शर्माले बताए । खोपको माग अद्यावधिक भएकाले भनेको समयमा नपाएको कृषकले बताएका छन् । यो रोगका कारण गाई गोरुमा समस्या आउँदा दूध उत्पादनमा असर पर्ने जनाइएको छ । म्याग्दीका भैँसीमा भने अहिलेसम्म लम्की स्किन देखिएको छैन ।