बजेटले गठबन्धनमै खटपट

  न्यूज डेस्क
  ३० जेठ २०८०

                            

काठमाडौँ । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ‘पहुँचका आधारमा बजेट निश्चित क्षेत्रमा केन्द्रित गरेको’ भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी दिएका छन् । एकीकृत समाजवादीका सांसदले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतलाई संयुक्त रूपमा भेटेर बजेट संशोधन नगरे समर्थन गर्न नसकिने जनाएका हुन् । 

जसपाले पनि प्रधानमन्त्री दाहाललाई भेटी बजेट संशोधनको माग गरिसकेको छ । उसले पिछडिएको क्षेत्रमा न्यायिक बजेट विनियोजन नभएको भन्दै बजेटको दिशा, नीति र विनियोजन नै गलत भएको भन्दै आपत्ति जनाएको छ ।

सरकारमा सहभागी दलहरूले नै प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर संशोधनको सर्त राखेपछि गठबन्धनमा छलफल सुरु भएको छ । प्रधानमन्त्री दाहालले बजेटमा ‘मिल्न सक्ने ठाउँमा मिलाउन’ अर्थमन्त्रीलाई निर्देशन दिए पनि जसपा र एकीकृत समाजवादी ढुक्क छैनन् । सरकारमा जसपा र एकीकृतका दुई/दुई मन्त्री र एक/एक राज्यमन्त्री छन् ।

प्रधानमन्त्री दाहाल र अर्थमन्त्री महतलाई बालुवाटारमा भेटी बजेटमा असन्तुलन भएकाले सच्याउन आग्रह गरेको समाजवादीका सांसद प्रेम आलेले जानकारी दिए । ‘बजेट असन्तुलित मात्र होइन, पहुँचका आधारमा केन्द्रित छ । हामीले प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीज्यूलाई पुनर्विचार गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘यही अवस्थामा बजेट पास गर्न सकिँदैन भनेर आपत्ति जनाएका छौं ।’ भेटमा अध्यक्ष माधवकुमार नेपालले बजेट संशोधनका लागि आग्रह गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाललगायत अरू सांसदको जिल्लाबाट योजना छनोट गरी पठाए पनि अर्थमन्त्री महतले ढिला भएको भन्दै समावेश नगरेको एकीकृत समाजवादीको आरोप छ ।

जसपाले पनि आफूले सिफारिस नगरेका योजनालाई महतले बजेट छुट्याएको भन्दै असन्तुष्टि जनाएको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले बजेट न्यायोचित नभएको भन्दै यथास्थितिमा पारित नहुने बताए । ‘यो बजेटको नीति, दिशा र वितरण गलत छ,’ उनले भने, ‘पछि परेको मधेश प्रदेशलाई अन्यायमा पारिएको छ ।

प्रधानमन्त्रीलाई भेटेर बजेटमा संशोधन नभए कुनै हालतमा पास हुँदैन भनिसकेका छौं ।’ गोरखा, नुवाकोट र डडेलधुरामा बजेट थुपारेर अरू जिल्लालाई बेवास्ता गरेको उनले बताए । अन्य सांसदहरूले पनि बजेट ल्याउनुअघि गठबन्धनमा छलफल नभएको भन्दै आपत्ति जनाएका छन् । ‘यसअघिका सरकारले सत्ता साझेदार दलसँग छलफल गरी सहमतिपछि मात्रै बजेट ल्याएका थिए, यस पटक त्यस्तो किन गरिएन ?’ उनीहरूको प्रश्न छ ।

‘प्रधानमन्त्रीज्यूले बजेटमा केही त्रुटि भए मिलाउन सकिने बताएको छ, उनले अर्थमन्त्रीलाई निर्देशन गरेको छ,’ सांसद आलेले भने, ‘बजेट संशोधन हुनेमा हामी आशावादी छौं । भएन भने पास गर्न सक्दैनौं भनेर स्पष्ट भनेका छौं ।’ प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले गठबन्धन दलमै केही असन्तुष्टि भएकाले प्रधानमन्त्रीले मिल्न सक्ने ठाउँमा बजेट व्यवस्था गर्न अर्थमन्त्री महतसँग परामर्श गरेको जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले असन्तुष्टिमा के गर्न सकिन्छ भन्नेबारे छलफल गरेको,’ उनले भने ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग बजेटकै कारण सरकार दुर्घटनामा जाने डर भएको बताएका थिए । ‘साथीहरू असन्तुष्ट र आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन । यही पाराले जाने हो भने सरकार दुर्घटनामा जान्छ कि भन्ने डर लाग्छ,’ उनको भनाइ थियो, ‘दुर्घटनामा नजाओस् भन्नेमा प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यान जानुपर्छ । बेठीक भएको कुरा सच्याउनुपर्छ ।’

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले गठबन्धनप्रति नभई बजेटप्रति मात्रै आफूहरूको असन्तुष्टि रहेको बताए । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र शक्ति हुनेहरूले बजेट आ–आफ्नो जिल्लामा केन्द्रित गरेको आरोप लगाए । ‘यो बजेटको वितरण समानुपातिक हिसाबले हुँदै भएन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट