विष्णुपुर गाउँपालिकाका अध्यक्ष पक्राउ

  डेटूडे खबर डेस्क
  ०८ भदौ २०८०

                            

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादवलाई नियन्त्रणमा लिएको छ ।

घुस रकमसहित पक्राउ परेका गाउँपालिकाका लेखापाल र एमआइएस अपरेटरको बयानको आधारमा अध्यक्ष यादवलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ । अख्तियारले नियन्त्रणमा लिएपछि बिरामी परेका अध्यक्ष यादवलाई राजधानीकै अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।

पालिका अध्यक्ष यादवलाई भदौ ६ गते बुधबार साँझ नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले बताए । लेखापाल टेकनारायण यादव र एमआइएस अपरेटर वीरेन्द्र यादवलाई राजविराजको गजेन्द्र चौकबाट २ लाख रुपैयाँ नगद र ३ लाखको चेकसहित अख्तियारको टोलीले गत ३१ साउनमा पक्राउ गरेको थियो ।

पक्राउ परेका यी दुवैले अध्यक्षकै इसारामा घुस लिएको बयान दिएका छन् । सोही सन्दर्भमा सोधपुछका लागि अध्यक्षलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

गत साउन ३१ गते सोलारसम्बन्धी एक योजनामा घुसका रूपमा २ लाख नगद र ३ लाखको चेक लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्र यादवलाई आयोगको टोलीले राजविराजस्थित गजेन्द्र चौकबाट नियन्त्रणमा लिएको थियो ।

विष्णुपुर गाँउपालिकामै गत असार २४ गते कामै नभएको एउटा सडक योजनामा ७९ लाख ७८ हजार रुपैयाँ आफूखुसी भुक्तानी दिइएको समेत खुलेको छ । विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशकुमार यादव अख्तियारको कारबाहीमा पर्ने सप्तरीका तेश्रो पालिका प्रमुख रहेका छन् ।

यसअघि राजविराज नगरपालिकाका नगरप्रमुख भिमराज यादव र शम्भुनाथ नगरपालिकाका नगरप्रमुख जितेन्द्रप्रसाद गुप्ता पक्राउ परी निलम्बित पनि भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट