भारतले दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गर्दै

  डेटूडे खबर डेस्क
  ३० कार्तिक २०८०

                            

एजेन्सी। भारतले दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गर्ने भएको छ । भारतले यही मंसीर १ गते भर्चुअलमा दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गर्न लागेको हो । 

भारतले यसअघि २०७९ साल पुष २८–२९ सम्म भर्चुअल ढाँचामै पहिलो पटक भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गरेको थियो । आ–आफ्ना विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्न ग्लोबल साउथका १२५ राष्ट्रलाई एकै ठाउँमा ल्याएको हो । 

भ्वाइस अफ ग्लोबल साउथको दोस्रो संस्करणले भारतको अध्यक्षतामा सम्पन्न जी–२० बैठकहरुले हासिल गरेका मुख्य उपलब्धिहरु ग्लोबल साउथका राष्ट्रहरुसँग साझा गर्ने जनाइएको छ ।

यस्तै बैठकमा विश्वव्यापी विकासका कारण देखा परेका चुनौतीका विषयमा पनि छलफल हुने जनाएको छ । भ्वाइस अफ ग्लोबल साउथ समिटको दोस्रो संस्करण १० वटा सत्र रहनेछन् । 

उद्घाटन र समापन सत्र राष्ट्र प्रमुखरसरकारको सहभागी हुने जनाइएको छ । सत्रको सञ्चालन भारतीय प्रधानमन्त्री मोदीले गर्नेछन् । उद्घाटन सत्रको विषयवस्तु “एकसाथ, सबैको विकासका लागि, सबैको विश्वाससँगै” र समापन सत्रको विषयवस्तु “ग्लोबल साउथ : एक भविष्यका लागि एकसाथ” रहेको छ । सम्मेलनमा आठवटा मन्त्रीस्तरिय सत्रहरु रहने जनाइएको छ ।  

नेपालबाट पूर्वउपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले २०७९ साल पुष २८ गते भर्चुअलि आयोजना गरिएको ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’को बैठकमा सहभागिता जनाएका थिए । सो बैठकमा अन्य चौध राष्ट्रका अर्थमन्त्री पनि उपस्थित थिए । यस वर्ष भारतमा सम्पन्न जी–२० सम्मेलनको फाइनान्स ट्रयाक बैठकमा पनि नेपालले सहभागिता जनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट