मधेशका आठवटै जिल्लामा मेडिकल कलेज बनाउने लक्ष्य छ : मुख्यमन्त्री यादव

  डेटूडे खबर डेस्क
  २० फाल्गुण २०८०

                            

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका आठवटै जिल्लामा एक एकवटा मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको बताएका छन्।

आइतबार नेपाल मेडिकल एसोसिएशन, जनकपुरधामद्वारा आयोजित मधेश हेल्थ सम्मिटलाई सम्वोधन गर्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन्।

यसअघि सहभागीहरुबाट स्वास्थ्यमा बजेट बढाइनुपर्ने मागउपर प्रतिक्रिया व्यक्त गर्दै स्वास्थ्य राज्यमन्त्री भइसकेको हुनाले स्वास्थ्यको महत्व आफूले बुझेको  समेत उनले बताए।

' प्रदेशमा १५ प्रतिशत बजेट छुट्याएर काम अघि बढाएको छु। आउने दिनमा स्वास्थ्य बजेट बीस पच्चीस प्रतिशतसम्म पुर्‍याइनेछ', मुख्यमन्त्री यादवले भने।

मुख्यमन्त्री यादवले सरकारले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन गरी चार क्षेत्रमा ’हब’ बनाइने लक्ष्य लिएको समेत पनि घोषणा गरे। चिकित्साकर्मीहरुको सुविधा र वृतिविकासका लागि उठेको जिज्ञासालाई सम्बोधन गर्दै  यसबारे आफू वचनवद्ध रहेको बताए।

साथसाथै सेवाको गुणवत्तामा ध्यान दिन पनि उनले चिकित्सकहरुसंग आग्रह गरे। “उपचार राम्रो छ, अलि अलि सुधार पनि भैरहेको छ तर जति सुधार हुनुपर्ने हो हुनसकेको छैन,“ मुख्यमन्त्री यादवले गुनासो पोखे।

स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंह, पूर्व राज्यमन्त्री डा सुरेन्द्र यादव लगायतले पनि मधेश प्रदेशका स्वास्थ्य क्षेत्रका चुनौती र सम्भावनाबारे आ आफ्नो धारणा व्‍यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट