वैशाखमा आगलागी र डढेलोबाट २६ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ३१ वैशाख २०८१

                            

काठमाडौँ । वैशाखमा अधिकतम तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन डढेलोका घटनाबाट धेरै जनधनको क्षति भएको छ । वैशाखमा डढेलो तथा आगलागीका घट्नामा परी देशभर २६ जनाको मृत्यु भएको जनाइएको छ । 

लामो समय सुक्खा खडेरी हुँदा वैशाखमा मात्र देशभर आगलागीका ८६१ र डढेलोका ५७३ घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगलागीका घटनामा परी २० जनाको मृत्यु भएको थियो भने ७३ जना घाइते भएका थिए । 

त्यस्तै डढेलोका घटनामा परी छ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले जानकारी दिए । आगलागीबाट एक हजार ३६४ र डढेलोबाट ४०७ घरपरिवार प्रभावित भएका थिए ।

त्यस्तै यस अवधिमा चट्याङबाट आठ जना, उचाइमा लेक लागेर दुई, बाढी र  जनावरको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको थियो । वन तथा भू–संरक्षण विभागले दिएको जानकारीअनुसार वैशाख महिनामा मात्र यति धेरै डढेलोका घटना भएको सम्भवतः पहिलो पटक हो । नेपालमा खासगरी माघदेखि जेठसम्म बढी आगलागी र डढेलो लाग्ने गरेको छ । 

नेपालमा विशेष गरी तराई र भित्री मधेसका जिल्लामा वन डढेलो बढी लाग्ने गरेको विभागको वन डढेलो सूचना कक्षका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए । यस वर्ष हिउँदे वर्ष न्यून भएका कारण पनि वन डढेलो धेरै देखिएको विभागको भनाइ छ ।

डढेलोका कारणमध्ये स्थानीयले घाँसको मुना पलाउने आसमा जानाजानी आगो लगाउने गरेका छन् । डढेलो वन व्यवस्थापनको राम्रो औजार भए पनि त्यो नियन्त्रित हुनुपर्ने वन क्षेत्रको जानकारको भनाइ छ । वनजङ्गलमा मानिस वनभोज जाने र आगो त्यतिकै छोड्दा हुने आगलागी, बिँडी, चुरोटका ठुटाबाट समेत वन डढेलो लाग्ने गरेको उनले जानकारी दिए ।

कतिपय संरक्षित क्षेत्रमा स्थानीयले प्रवेश गर्न नपाएको र स्रोतको प्रयोग गर्न नपाएको आवेगमा समेत आगो लगाउने गरेको देखिएको छ । पछिल्लो समय जलवायु परिवर्तन र वन डढेलो बिचको दुश्चक्रिय अन्तरसम्बन्धले समस्या जटिल बन्नुका साथै डढेलोका घटनासमेत वृद्धि भएको पाइएको जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट