पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो
डेटूडे खबर डेस्क
१७ श्रावण २०८१
जनकपुरधाम । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टीतेलको भाउ घटेको हो ।
पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटेको छ । निगमले तय गरेको नयाँ मूल्य विभिन्न ठाउँअनुसार लागू हुनेछ ।
निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६७ रूपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १६९ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ १५७ रूपैयाँ पर्नेछ ।
यस्तै तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १७० रूपैयाँ तथा त्यस्तै डिजेल र मट्टीतेलको भाउ १५८ रूपैयाँ पर्नेछ ।