पर्वहरूले एकता र सद्भाव कायम गर्छ : राजेन्द्र महतो
डेटूडे खबर डेस्क
२२ भदौ २०८१
काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले धार्मिक तथा सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बिचमा एकता र सद्भाव कायम गर्न सहयोग पुर्याइ रहेको बताएका छन् ।
चेपाङ समुदायले मनाउने छोनाम (न्वागी ) पर्व तथा नेवाले मनाउने चथा नखः को अवसरमा शुभकामना दिँदै संयोजक महतोले यस पर्वले सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्ने उल्लेख गरेका छन् ।
उनले शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेका हुन्छन् भन्ने मेरो विश्वास रहेको छ ।’चेपाङ समुदायको यो राष्ट्रिय धार्मिक पर्व हरेक वर्ष भदौ २२ मा मनाउने चलन छ । त्यस्तै नेवा: राष्ट्रले आजको दिनलाई चथा नखः भनेर मनाउने गर्दछ । चथा नखः लाई गणेश चौथी पनि भन्ने गरेको संयोजक महतोले उल्लेख गरेका छन् ।