आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि उखु किसानहरु खुशी

  न्यूज डेस्क
  २० असोज २०८१

                            

महोत्तरी । चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरी जिल्लाका उखु किसान खुशी छन्। राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि उनीहरू मक्ख परेका हुन्।

आर्थिक वर्ष २०८०-०८१ मा गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन्। उक्त उद्योगलाई गत वर्ष उखु बेचेका १४ हजार ४४४ किसानका खातामा उनीहरुले बुझाएका उखुको परिमाणअनुसार प्रतिक्विण्टल रु. ७० का दरले अनुदान रकम दाखिला भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको हो। किसानलाई रु. २० करोड ३३ लाख १५ हजार ८११ अनुदान रकम दिइएको छ।

कार्यालयप्रमुख बालकृष्ण अधिकारीका अनुसार अनुदान रकम बैंक खाता भएका सबै किसानले पाएका र नहुनेले पनि धमाधम खाता खोल्न थालेका छन्। “रकम दाखिलाको क्रम जारी छ,” उनले भने।

“दशैँमा कसरी गर्जो टारौँ भन्ने थियो, अनुदान रकम आएपछि प्रसन्न छु”, भङ्गाहा–४ का उखु किसान अरुण गिरी भन्छ, “ हामीलाई दशैँ उपहार पाएजस्तै भएको छ।” गिरीजस्तै बर्दिबास—९ पशुपतिनगरका अर्का किसान रामविनोद महतोले पनि चाडपर्वअघि अनुदान रकम पाइँदा राहत मिलेको खुशी व्यक्त गरे।

महोत्तरीमा दुईवटा चिनी उद्योग सञ्चालनमा रहेका भए पनि दुई वर्षअघिमात्र सञ्चालनमा आएको सिद्धिविनायक चिनी उद्योगले गत वर्ष प्राविधिक गडबडीले उखु क्रसिङ् गर्न सकेन। एभरेष्ट चिनी उद्योगले भने २९ लाख चार हजार ५११ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ६४ हजार ५११ क्विन्टल चिनी उत्पादन गरेको थियो।

गत वर्ष उखुको मूल्य उद्योगले रु. ५४० र सरकारले अनुदान बापत ७० गरी प्रति क्विन्टल रु. ६१० कायम गरेको थियो। किसानले प्रतिक्विन्टल रु. ७५० हुनपर्ने माग गरेका थिए।

सरकारले पछिल्ला ३ वर्षयता उखुको अनुदान रकममा प्रति क्विण्टल रु. ५ बढाएर रु. ७० पुर्याएकाे हो। उखुको समयमा नै भुक्तानी तथा सरकारबाट अनुदान पनि पाएका यहाँका किसान उखुखेति विस्तार गर्ने योजनामा रहेका उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले भने। हाल यहाँ दश हजार बिघामा उखुखेती भएको छ। उनले उखु उत्पादक किसानको सहभागितामा प्रत्येक वर्ष ‘क्रसिङ् सिजन’अगावै को मूल्य निर्धारण हुनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट