राजनीतिक तह स्वच्छ हुनु जरुरी : प्रचण्ड

  डेटूडे खबर डेस्क
  २० पौष २०८१

                            

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा पहिले राजनीतिक तह स्वच्छ हुन जरुरी रहेको बताएका छन्।

 शनिवार काठमाडौँमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। उनले देशको स्थिति अलि गम्भीर र जटिल अवस्थामा रहेको बताए। उनले देशमा राजनीतिक तह सबैभन्दा पहिला स्वच्छ हुनुपर्ने बताए।

उनले राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार नबसे सबैतिर त्यसको नकारात्मक असर पर्ने उल्लेख गरे। उनले नीतिहरूको राजा भएकाले राजनीति सफा हुनुपर्ने बताए। सुशासन, सामाजिक न्याय र आर्थिक विकासको निम्ति सहकार्य गर्न आफू तयार रहेको बताए।

प्रचण्डले भने, ‘स्थिति अलिकति गम्भीर र जटिल छ। देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम भएन, राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्छ। राजनीति नीतिहरूको राजा हो भनिन्छ। त्यसकारण राजनीति सफा भएन, राजनीति सही नियतअनुसार अघि बढेन भने त्यसको नकारात्मक प्रभाव चौतर्फी पर्छ नै।’

अध्यक्ष दाहालले साना तथा मझौला उद्योगी, व्यवसायीलाई स्थानीय सरकारको सिफारिसमा बिनाधितो सहुलियत ब्याजदरमा ऋण दिनुपर्ने, व्यवसाय दर्ता प्रणाली एकद्वार प्रणालीबाट हुनुपर्ने, भन्सार दर समयसापेक्ष परिमार्जन गर्नुपर्ने, शहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्नका लागि वैज्ञानिक घरभाडा कर लागू गर्नुपर्ने, खाता विवरणको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाणपत्र दिएपछि पुनरावलोकन हुन नहुने लगायतका महासंघका एजेण्डा समय सान्दर्भिक रहेको बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट