दलितमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन
_1740408186.jpg)
डेटूडे खबर डेस्क
१२ फाल्गुण २०८१
काठमाडौँ । दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाहलगायत विषयमा उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षणका लागि सरोकार भएकाहरूले प्रदर्शन गरेका छन्।
दलितका लागि दलित अभियानको संयोजनमा विभिन्न दलित अधिकारवादी संघसंस्थाको सहभागितामा आज भएको प्रदर्शनका क्रममा माइतीघरदेखि नयाँ बानेश्वरसम्म ¥याली निकालिएको थियो।
दलित हिंसा गर्नेमाथि कारबाही गर, अन्तरजातिय विवाह गर्नेहरूमाथि हुने हिंसा बन्द गरलगायतका नारासहित प्रदर्शन गरिएको अभियानका संयोजक खगेन्द्र सुनारले जानकारी दिए।
दलित अधिकारकर्मीहरूले अन्तरजातीय विवाहपछि प्रहरीले पटक–पटक पक्राउ गरी दुःख दिएको भनिएका सिरहाका सत्येन्द्र राम र नेहा रौनियारको जोडीका बारेमा आवाज उठाउँदै आएका छन्।
दलितका लागि दलित अभियानले राज्यका हरेक तहमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्व, देशका विभिन्न भूभागमा जातीय विभेद, हत्या, छुवाछूतलगायतका विषय सम्बोधनको माग गर्दै चरणबद्ध आन्दोलन गरिरहेको छ।