प्रहरीले चलाएकाे गाेली लागेर धनुषामा एक जना घाइते

डेटूडे खबर डेस्क
०४ चैत्र २०८१
धनुषा – धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठियानमा प्रहरीले चलाएको गोली लागेर शहीद नगर नगरपालिका वडा नम्बर १ कुम्भकरणका २० वर्षीय सन्तोषकुमार यादव घाइते भएका छन् ।
सबैला नगरपालिका–९ भठिहनमा रहेकाे चोकको नाम राख्ने विषयमा आज झडप भएको थियो । दुई पक्षबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउनुपरेको धनुषाका प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए ।
गोली लागेर घाइते भएका यादवको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । भठिहनमा रहेको चोकमा केहीअघि यादव चोक लेखिएको बोर्ड राखिएको थियो । त्यसपछि अरू समुदायले बोर्ड उखेलेपछि हिजोदेखि दुई समूहबीच तनाव बढेको छ ।