भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यान आवश्यक : शिक्षा मन्त्री पुन
डेटूडे खबर डेस्क
०६ पौष २०८२
काठमाडौँ । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यान आवश्यक रहेकाे बताएका छन् ।
विविश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग र ध्यानमार्फत मनलाई शान्त र शुद्ध पार्नुपर्ने बताए ।
‘जति पनि भ्रष्ट्राचारी छन् भन्छौँ हामी उनीहरूको मन भ्रष्ट छ, शुद्ध छैन । उनीहरूमा घमण्ड छ, लोभ लालसा छ । यस्तो किसिमको लोभ, लालसा, घमण्डीपना, भ्रष्टाचारीहरू जुन छ, यसलाई हटाउनको लागि औषधि खुवाएर नहुने देखियो’, मन्त्री पुनले भने, ‘त्यसको औषधि बनेको पनि छैन । बन्दा पनि बन्ने छैन । तर त्यसको औषधिको रूपमा योग, ध्यानलाई हामीले हाम्रो समाज समाजमा फैलाउन सक्नुपर्छ । टोल टोलमा फैलाउन सके भ्रष्टाचार हट्ने ठुलो सम्भावना देखेको छु । भ्रष्टाचारीहरूको मनलाई पनि घमण्डीहरुको मन, लोभीपापीहरुको मनलाई पनि शुद्ध गर्ने एउटा माध्यमको रूपमा देखेको छु ।’
योग ध्यानलाई गाउँ गाउँमा पुर्याउनको लागि सबैले प्रयास गर्न उनले आह्वान गरेका छन् । योग, ध्यानलाई विद्यालयको अतिरिक्त क्रियाकलापमा समावेश गर्नुपर्ने पनि उनले बताएका छन् ।
