भारतको पश्चिम बङ्गालमा भाजपालाई दुई तिहाइ बहुमत

  डेटूडे खबर डेस्क
  २२ वैशाख २०८३

                            

एजेन्सी ।

भारतको पाँच राज्यमा सम्पन्न विधानसभा चुनावको मत परिणामले भारतीय राजनीतिक समीकरणमा ठूलो उलटफेर ल्याएको छ। पश्चिम बंगालमा पहिलो पटक भारतीय जनता पार्टी (भाजपा) ले सरकार गठन गर्ने स्पष्ट संकेतसहित ऐतिहासिक सफलता हासिल गरेको छ। तमिलनाडुमा अभिनेता विजय नेतृत्वको पार्टी टीवीके सबैभन्दा ठूलो दल बनेको छ भने केरलमा कांग्रेस नेतृत्वको यूडीएफले बहुमततर्फ अग्रता लिएको छ।

२९४ सिट रहेको पश्चिम बंगाल विधानसभा निर्वाचनमा भाजपाले २०० भन्दा बढी सिट जित्दै पहिलो पटक सरकार गठन गर्ने स्थिति बनाएको छ। लामो समयदेखि सत्तामा रहेको तृणमूल कांग्रेस (टीएमसी) यसपटक उल्लेखनीय रूपमा कमजोर बनेको छ।
सीमावर्ती, आदिवासी तथा औद्योगिक क्षेत्रहरूमा भाजपाले राम्रो प्रदर्शन गरेको बताइएको छ। मतगणनाको क्रममा ध्रुवीकरण, ईभीएम र मतदाता सूचीसम्बन्धी विवाद पनि उठेका छन्।तमिलनाडुमा २३४ सिटमध्ये अभिनेता विजय नेतृत्वको टीवीकेले सबैभन्दा धेरै सिट जित्दै ठूलो राजनीतिक शक्ति बनेको छ। यसले राज्यको परम्परागत द्रविड राजनीतिक संरचनालाई चुनौती दिएको छ।

द्रमुक र अन्नाद्रमुक दुवै दल पछाडि परेका छन्। मुख्यमन्त्री एमके स्टालिनले पनि आफ्नो सिट गुमाएको प्रारम्भिक परिणामले देखाएको छ।उता केरलमा लामो समयदेखि प्रभावशाली वाम गठबन्धन (एलडीएफ) यसपटक कमजोर देखिएको छ। कांग्रेस नेतृत्वको यूडीएफले स्पष्ट बहुमततर्फ अग्रता बनाएको छ।

यद्यपि सरकार गठनका लागि यूडीएफले गठबन्धन सहयोगीहरूको समर्थनमा भर पर्नुपर्ने अवस्था रहेको बताइएको छ।असममा भाजपा नेतृत्वको गठबन्धनले लगातार तेस्रो पटक सत्ता कायम राख्न सफल भएको छ। विकास र सुरक्षा मुद्दालाई आधार बनाउँदै पार्टीले बलियो जनमत प्राप्त गरेको हो। पुडुचेरीमा पनि भाजपाले आफ्नो सत्ता कायम राख्दै प्रभाव देखाएको छ।

यी चुनावी नतिजाले भारतको राष्ट्रिय राजनीतिमा भाजपाको प्रभाव विस्तार, क्षेत्रीय दलहरूको चुनौती र कांग्रेसको आंशिक पुनरागमनलाई स्पष्ट देखाएको विश्लेषकहरू बताउँछन्। वाम दलहरूको प्रभाव भने उल्लेखनीय रूपमा घटेको देखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट