स्थानीय तहको चुनाव गर्न १० देखि १२ अर्ब लाग्ने निर्वाचन आयोगको अनुमान

  डेटूडे खबर डेस्क
  १८ माघ २०७८

                            

जनकपुरधाम । निर्वाचन आयोगले जेठ ४ का लागि प्रस्ताव गरिएको स्थानीय तहको निर्वाचनका लागि १० देखि १२ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमानित खर्चबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको छ ।

मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा आयोग पदाधिकारीहरुले स्थानीय निर्वाचनका लागि १० देखि १२ अर्ब रुपैयाँ खर्च लाग्ने बताएका हुन् । २०७४ मा सम्पन्न निर्वाचनमा ८ अर्ब रुपैयाँ खर्च भएको थियो ।

निर्वाचन आयोगले प्रधानमन्त्रीसँगको छलफलका क्रममा स्थानीय तहको निर्वाचन २०७९ जेठ ४ मा गर्न तयार रहेको जनाएको छ । निर्वाचन गर्न १२० दिन तयारीका लागि आवश्यक पर्नेमा मतदाता नामावलीलगायत काम निरन्तर भइरहेकाले आयोग स्थानीय तहको निर्वाचन गर्न तयार रहेको जनाएको हो ।

स्थानीय तहको निर्वाचन जेठ ४ गते सम्पन्न गर्नका लागि परामर्श र सुझाव दिएपछि आयोगले विज्ञप्ति जारी गर्दै उक्त मितिमा निर्वाचन गर्न तयार रहेको जनाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्नु सकरात्मक हुने उल्लेख गरिएको छ । आयोगले कोभिड१९ को प्रभावका बीच हुने निर्वाचनमा पालना गर्नुपर्ने स्वास्थ्य मापदण्डका बारेमा पनि सरकारसँग छलफल गरेको छ ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन मिति आयोगसँगको परामर्शमा नै तोकिने जानकारी दिएको समेत विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट