काठमाडौंसहित ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन भोलि

डेटूडे खबर डेस्क
०४ असोज २०७८
४असोज २०७८, डेटूडे खबर ।
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंगलबार सात जिल्लामा वडा अधिवेशन हुने भएको छ । १८ भदौदेखि शुरु भएको कांग्रेसको वडा अधिवेशन ५७ जिल्लामा सकिएको छ ।
ढिलो गरी क्रियाशील सदस्यता सार्वजनिक भएका काठमाडौं सहित थप सात जिल्लामा ५ असोजमा वडा अधिवेशन हुन लागेको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार मंगलबार काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुरामा वडा अधिवेशन हुनेछ ।
निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले सात वटै जिल्लामा वडा अधिवेशनका लागि निर्वाचन अधिकृत पठाइसकेको बताए ।
तर अझै १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । प्रदेश दुईका आठ वटै जिल्ला, रसुवा, बाँके, कैलाली, सुर्खेत र रोल्पाको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन बाँकी भएका कारण वडा अधिवेशन हुन सकेको छैन ।
क्रियाशील सदस्यता विवाद सुल्झाउने जिम्मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई दिइएको थियो ।
तीन नेता सम्मिलित कार्यदलले क्रियाशील सदस्यतासम्बन्धी सम्पूर्ण विवाद आइतबार सुल्झिएको र कार्यान्वयका लागि जिम्मेवारी दिइएको जनाएको छ । तर निर्वाचन समितिले भने सोमबार साँझसम्म थप कुनै पनि जिल्लाको क्रियाशील सदस्यता सूची नआइसकेको जनाएको छ ।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९-१३ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ ।