राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले आज शपथ लिँदै
डेटूडे खबर डेस्क
२१ फाल्गुण २०७८
काठमाडौँ । राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचितहरुको शपथ ग्रहण आज हुँदै छ । गत माघ १२ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमार्फत आएका १९ सदस्यले आज शपथ लिने तय भएको हो ।
शपथग्रहण कार्यक्रम आज बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा हुनेछ ।
राष्ट्रिय सभामा १९ सदस्यका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनको वर्चस्व देखिएको छ । जसमा नेपाली कांग्रेसबाट ६ जना, नेकपा माओवादी केन्द्रबाट र नेकपा एकीकृत समाजवादीबाट ५–५ जना निर्वाचित भएका छन् । यसैगरी, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट १–१ जना सदस्य निर्वाचित भएका छन् । १ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।
संघीय संसदको माथिल्लो सदनका रूपमा रहेको राष्ट्रिय सभा स्थायी संसद हो । यसमा कायम रहने ५९ सदस्यमध्ये एक तिहाइ सदस्यको कार्यकाल हरेक दुई वर्षमा समाप्त हुन्छ र सट्टामा सोही परमाणमा नयाँ सदस्यहरु निर्वाचित हुने व्यवस्था छ । सुरुमा गोलाप्रथाबाट सदस्यहरुको पदावधि निर्धारण गरिएको थियो, निरन्तरतामा भने सदस्यहरुको पदावधि ६ वर्षको हुने व्यवस्था छ ।