नेतृत्वले आफ्ना मान्छे छान्दा पार्टीलाई असर परिरहेको छ : प्रकाशमान सिंह

डेटूडे खबर डेस्क
०१ चैत्र २०७८
जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताउनु भएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्न आयाेजित कार्यक्रममा बाेल्दै नेता सिंहले यस्तो बताउनु भएको हो ।
उहाँले हरेक निर्वाचनमा आफ्ना मान्छेहरुलाई स्थानीय तह, प्रदेश तथा सङ्घीय निर्वाचनमा उम्मेदवार बनाउने परिपाटीका कारण सिङ्गो पार्टीलाई असर परिरहेको बताउनु भयो ।
नेता सिंहले नेपाली कांग्रेसले स्थानीय तहको लागि निर्वाचनमा उम्मेदवार छनोट गर्दा पार्टीको विधान र नियमावलीलाई पालना गर्न आवश्यक रहेको पनि बताउनु भयो । स्थानीय तहको निर्वाचनमा हरेक वडा तथा पालिकामा उम्मेदवार छनोट गर्दा सकेसम्म सर्वसम्मत हुनुपर्ने र सर्वसम्मत हुन नसके वडा तथा पालिकाहरुमा छाप छोडेको व्यक्तिलाई उम्मेदवारमा छनोट गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।
त्यस्तै नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचत अध्यक्ष रवि सिंहले नेपाली कांग्रेसको नेतृत्वको सरकार बनेपछि निर्माण व्यवसायीहरुले राहत महसुस गरेको बताउनु भयो । उहाँले आफूले निर्माण व्यवसायीहरुको हकहितका लागि काम गर्ने र निर्माण क्षेत्रमा रहेका विकृतिहरुलाई समाधान गर्ने पनि बताउनु भयो ।