आज नवबर्ष २०७९; सलहेश फुलवारीमा चमत्कारी फुल
डेटूडे खबर डेस्क
०१ वैशाख २०७९
विसुन देव सरदार सिरहा । आज नववर्ष २०७९ सालको सुरुवात भएसँगै राजा सलहेशको फुलबारीमा ढक्कमक्क फुल फुलेको छ। सलहेश फुलबारी सुरक्षित रहनु सराहनीय हो। यो फुलबारी भाग्यमानी हुनुका साथै राजाको फुलबारी भनेर पनि चिनिन्छ । मिथिलाञ्चलमा रहेको फुलबारीको सौन्दर्य र महत्त्व संसारमा प्रसिद्ध छ। वैशाख १ गते अर्थात नव वर्षको दिन फुल्ने सलहेश फुलबारीको चमत्कारी फुल हो ।
१४ औं शताब्दीका राजा सलहेशको सम्झनामा सलहेशको शौर्य, शौन्दर्य, साहस, वीरता, प्रेमसँग गाँसिएका गाथाहरुको सम्झना स्वरुप वैशाख १ गतेका दिन मेला समेत आयोजना हुन्छ । फुल देखेर मन नलोभिने सायदै कोही होला त्यसमा पनि वर्षको १ दिनमात्रै फुल्ने फुलको महत्त्व कति होला?
सिरहा जिल्ला स्थित प्रत्येक वर्ष वैशाख १ गते ढक्कमक्क फुल्ने सुनाखरी र चाँदीगाँभा फुल हेर्न मान्छेरुको घुईँचो लाग्छ । सलहेश फुलबारीको मध्यभागमा हार्मका २ वटा रुखहरु छन त्यस रुखमा फुल फुल्ने गर्छ । फुल हेर्न नयाँ वर्षमा घुइँचो लाग्छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका - १२ भोटिया टोल चोकबाट डेढ किलोमिटर दक्षिणमा सलहेश फुलवारी पर्दछन ।
हारम रुख नजिकै प्रतिमा सहित मालिनी मन्दिर छ । त्यसको ५० मिटरमा सलहेश मन्दिर छ । यहाँको कथा १४ औं शताब्दीका राजा सलहेश र उनका प्रेमिका मालिनीहरु रेशमा, कुशमा र दौना बिचको सम्बन्धसँग जोडिएको छ ।
त्यसबेला सिरहा सदरमुकामलाई माईसोथागड भनिन्थ्यो त्यहीँको राजा थियो सलहेश । राजा सलहेश मालिनी दहमा स्नान गर्थे, फुलबारीमा फुल टिप्थे, सिल्टह खण्डमा कुस्ती खेल्थे, सलहेश गडमा गएर पुजापाठ गर्थे ।
राजा सलहेश र उनका प्रेमिकासँग सम्बन्ध जोडिएको राजा सलहेश कै लागि वैशाख १ गतेमा माला आकारको मालिनी देखा परेको जन विश्वास रहेको छ। सुनगाभा चाँदीगाभाको अर्को नाम डेन्डेवियम एफायल्म हो । वनस्पति विभागले यस फुलेको बारेमा अध्ययन गरेर सन २०१६ मा प्रकाशित पुस्तकमा सलहेश फुलबारीका हरेक बोटबिरुवा बारे चर्चा गरिएको छ ।
यस फुलका विभिन्न मान्यता र जनविश्वास रही आएको हो । यहाँ भाकल पूरा भएपछि बोका बलि दिने प्रम्परा पनि रहेको छ। मेला हेर्न आएका श्रद्धालुहरु सलहेशको पुजा गर्नुका साथै सन्तान प्राप्ति , सुस्वास्थ्यको कामना साथै भाकल गर्ने गर्छ। पुरातात्त्विक एवंम धार्मिक पौराणिक इतिहाससँग जोडिएको यस फुलबारीमा राज्यले थप सम्वर्धन गर्न सके अन्तर्राष्ट्रिय स्तरमा फलदायी बन्नेछ।