3 महिनामा २ लाख भन्दा धेरै जनाले श्रम स्वीकृति लिए
डेटूडे खबर डेस्क
१७ कार्तिक २०८२
काठमाण्डाैँ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा दुई लाख १० हजार जनाभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार साउनदेखि असोज महिनासम्ममा दुई लाख १० हजार पाँच सय १६ जनाले श्रम स्वीकृति लिएका हुन् ।
अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्ममा एक लाख ७० हजार छ सय तीन जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेटस (यूएई), साउदी, कतार, ओमान, बहाराइन, कुवेतमा नेपाली श्रमिक रोकिएको बताइए पनि ती देशमा जानेको संख्यामा कमी नआएको तथ्याङ्कले देखाएको छ ।
असोजमा मात्रै युएईका लागि साढे १८ हजारले श्रम स्वीकृति लिएका विभागको तथ्याङ्क छ । कतारका लागि ११ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने साउदीका लागि आठ हजार सात सय ९१ जनाले श्रम स्वीकृति लिएका छन् ।
कुवेतका लागि चार हजार पाँच सय २३ जना छन् । आन्दोलनको प्रभाव अहिलेसम्म नदेखिए पनि दुबईले भिसा रोकेको र अरूले सुरक्षा चासो बढाएका कारण आउँदा दिनमा समस्या आउन सक्ने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले बताए ।
