राष्ट्रिय एकता र सद्भाव कायम गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री शाह

  डेटूडे खबर डेस्क
  १५ श्रावण २०८३

                            

प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय एकता र सद्भाव कायम गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा मधेस केन्द्रित राजनीतिक दलका नेताहरूसंग छलफल गर्दै प्रधानमन्त्री शाहले सवै पक्षसंग समन्वय गर्दै राष्ट्रिय एकता र सद्भाव कायम गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको हो । 

प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पार्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तराईमधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उहाँहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु रहेको उल्लेख गर्नुभयो । शान्तिसुरक्षालाई चुस्तदुरुस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सीमा नाकामा आवतजावतलाई व्यवस्थित बनाइएको बताउनुभयो ।

 

स्थानीयस्तरमा दीर्घकालीन शान्ति र भ्रातृत्व कायम राख्नका लागि दुवै पक्षका नेतृत्व, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूसँग सघन संवादको शृङ्खलालाई निरन्तरता दिनुपर्ने सुझावसमेत सांसदहरूले दिनुभएको थियो ।

साथै, तनावग्रस्त तथा आसपासका क्षेत्रहरूमा धार्मिक तथा सामाजिक सौहार्दता कायम राख्ने गरी निरन्तर सकारात्मक र ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुपर्ने तथा सामाजिक सञ्जालका भ्रम र अफवाहबाट युवावर्गलाई जोगाउन स्थानीयस्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा सांसदहरूले जोड दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट