मधेशमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा २ हजार ८११ जना पक्राउ
डेटूडे खबर डेस्क
१० श्रावण २०८३
धनुषा । मधेश प्रदेशमा लागूऔषधविरुद्ध प्रहरीले चलाएको विशेष अभियानका क्रममा ३ वर्षमा झन्डै २ हजार ९०० जना पक्राउ परेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो ३ आर्थिक वर्षमा ८ वटै जिल्लाबाट २ हजार ८११ जना लागूऔषध प्रयोगकर्ता र कारोबारीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा २ हजार ५५४ नेपाली, २५३ भारतीय र १ विदेशी नागरिक रहेका छन् । उनीहरूविरुद्ध २ हजार १२१ वटा मुद्दा दर्ता भएको छ ।
पक्राउ पर्नेमा धेरैजसो २० देखि ३० वर्ष उमेर समूहका युवा रहेका छन् । खुला सीमा नाकाको फाइदा उठाउँदै भारतीय बजारबाट भित्र्याइने यस्ता लागूऔषध सङ्घीय राजधानी काठमाण्डाैसम्म पुग्ने गरेको प्रहरीले जनाएको छ । यस अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, अफिम र प्रतिबन्धित ट्याब्लेट तथा इन्जेक्शन बरामद भएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख ओमप्रसाद अधिकारीका अनुसार हिजोआज युवाबाहेक बालबालिका र महिलासमेत यस कुलतमा फस्न थालेकाले यसबाट जोगाउन अभिभावक, विद्यालय र समाज आफैँ सचेत हुनुपर्ने देखिन्छ ।रासस
