किशन र वर्माको विस्फोटक ब्याटिङमा भारतलाई सिरिज
डेटूडे खबर डेस्क
१० श्रावण २०८३
एजेन्सी - इशान किशन र तिलक वर्माको आक्रामक अर्धशतक तथा बलिङमा उत्कृष्ट प्रदर्शनको मद्दतमा भारतले जिम्बाब्वेलाई दोस्रो टि ट्वान्टी खेलमा ९० रनले पराजित गरेको छ।
हरारे स्पोर्ट्स क्लबमा आज भएको खेलमा भारतले दिएको २ सय २० रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्वे १७.५ ओभरमा १ सय २९ रनमै समेटियो।
यो जितसँगै भारतले ३ खेलको सिरिजमा २-० को अग्रता लिँदै सिरिज आफ्नो नाममा पक्का गरेको छ।
टस जितेर पहिले बलिङ रोजेको जिम्बाब्वेविरुद्ध भारतले सुरुआतमै अभिषेक शर्मा (८ रन) लाई सस्तैमा गुमायो। तर, वैभव सूर्यवंशीले तेस्रो ओभरमा रिचर्ड नगराभाको लगातार बलमा ३ चौका र १ छक्का प्रहार गर्दै आक्रामक सुरुआत गरे।
यद्यपि, नगराभाले त्यसको लगत्तै बदला लिए। २० रन बनाएका सूर्यवंशी गलत प्रहार गरेपछि मिडअनमा क्याच आउट भए। २ विकेट गुमाए पनि भारतले आफ्नो पकड गुमाएन।
किशन र कप्तान श्रेयस अय्यरले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्दै भारतीय इनिङ्स सम्हाले।
अय्यरले सुरुआतमा केही समय लिए पनि १०औँ ओभरमा ब्रायन बेनेटविरुद्ध लगातार ३ चौका प्रहार गरे। तर, सोही ओभरको अन्तिम बलमा २५ रन उनी आउट भए।
त्यसपछि किशन र वर्माले भारतीय इनिङ्सलाई गति दिए। सुरुआतमा संयमित देखिएका दुवैले १४औँ ओभरदेखि आक्रामक खेले । वर्माले ब्लेसिङ मुजराबानीको ओभरमा ३ चौका प्रहार गरे भने किशनले सिकन्दर रजालाई छक्का प्रहार गर्दै दबाब बढाए।
किशन १८औँ ओभरमा ८१ रन बनाएर आउट भए। ४४ बलमा ९ चौका र २ छक्का प्रहार गरे। स्टम्पबाहिरको बललाई पछ्याउने क्रममा उनी डीप पोइन्टमा क्याच आउट भएका थिए।
त्यसपछि रिंकु सिंह, वर्मा र शिवम दुबेले अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गर्दै भारतलाई २० ओभरमा ५ विकेट गुमाएर २ सय १९ रनको विशाल योगफलमा पुर्याए।
वर्माले २९ बलमा ५ चौका र ३ छक्कासहित नटआउट ६० रन बनाए । रिंकुले १२ , शिवमले ६ रन जोडे।
विशाल लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेका ब्रायन बेनेटले भारतीय तीव्र गतिका बलरलाई सुरुआतमै दबाबमा राख्ने प्रयास गरे। उनले मेयांक यादव र यश ठाकुरविरुद्ध आक्रामक ब्याटिङ गरे।
३२ रन बनाएका बेनेटको विकेटपछि जिम्बाब्वेको इनिङ्समा छोटो समयमै ठूलो पतन आयो। पावरप्ले सकिनासाथ प्रिन्स यादव र रवि बिश्नोईले लगातार विकेट लिएपछि जिम्बाब्वे ४९ रनमा ३ विकेट गुमाउने अवस्थामा पुग्यो।
प्रिन्स यादवले ८ बलमा २ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे पनि सिकन्दर रजाको विकेट लिएपछि बायाँ ह्यामस्ट्रिङमा समस्या देखिएपछि मैदानबाट बाहिरिनुपर्यो।
रायन बर्ल (२० रन) ले आक्रामक खेल्ने प्रयास गरे पनि भारतीय बलरले नियमित अन्तरालमा विकेट लिँदै जिम्बाब्वेमाथिको दबाब कायम राखे।
तादिवानाशे मरुमानी (२४ रन) ले केही प्रतिरोध गरे पनि अभिषेक शर्माले ३ विकेट लिएपछि जिम्बाब्वेको इनिङ्स थप धराशायी बन्यो। अन्ततः जिम्बाब्वे १७.५ ओभरमा १२९ रनमा अलआउट भयो।
