ग्यास लिक भएर आगलागी हुँदा ३ कामदार घाइते
डेटूडे खबर डेस्क
०७ श्रावण २०८३
जनकपुरधाम । ग्यास लिक भएर आगलागी हुँदा तीन कामदार घाइते भएका छन् ।धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरमा रहेको ग्रिन बायो फ्यूल उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना कामदार घाइते भएका हुन् । बिहीबार (आज)उद्योगभित्र कामदारले कोठामा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।
उनका अनुसार आगलागीबाट बाराको प्रसौनी गाउँपालिका–४, खुट्वा प्रसौनीका २३ वर्षीय सोमराती अन्सारी, २२ वर्षीय अब्दुल अन्सार र २५ वर्षीय धर्मराज महतोको शरीरको विभिन्न भाग जलेर घाइते भएको छ ।
घाइते तीनै जनालाई प्रादेशिक अस्पताल जनकपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बर्न अस्पताल किर्तिपुर पठाइएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
