सुरक्षाकर्मी परिचालन सुरु

  डेटूडे खबर डेस्क
  १७ वैशाख २०७९

                            

स्थानीय तह निर्वाचनको शान्ति सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन सुरु भएको छ । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका सुरक्षाकर्मी परिचालन गरिएको हो ।  

गृह मन्त्रालयले शान्त, सुरक्षित, निष्पक्ष तथा स्वतन्त्र ढङ्गले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएको छ । यसका लागि म्यादी प्रहरी एक लाख, नेपाल प्रहरी ६२ हजार, सशस्त्र प्रहरी ३२ हजार, सेना ७१ हजार र राष्ट्रिय अनुसन्धान विभागबाट पाँच हजार जनशक्ति परिचालन गरिने मन्त्रालयले जनाएको हो । 

निर्वाचनका लागि शान्ति सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सुरक्षा तयारी, मतदान स्थल अनुगमन, सुरक्षा चुनौतीको विश्लेषण र सुरक्षाकर्मी परिचालनलगायत आवश्यक रणनीति योजना कार्यान्वयनमा ल्याइएका छन् । 

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । तीमध्ये करिब दुई हजार नौ सय अति संवेदनशील, चार हजार चार सय संवेदनशील र तीन हजार तीन सय सामान्य अवस्थाका मतदान केन्द्र छन् । 

अति संवेदनशील मतदान केन्द्रमा छ म्यादी, पाँच प्रहरी गरी ११ जना, संवेदनशीलमा पाँच म्यादी, चार प्रहरी गरी नौ जना र सामान्य मतदान केन्द्रमा चार म्यादी, तीन प्रहरी गरी सात जना सुरक्षाकर्मी परिचालन हुने जानकारी प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रवक्ता विष्णुकुमार केसी निर्वाचन मितिको एक हप्ताअघि नै सुरक्षाकर्मी सम्बन्धित स्थानमा खटिइसक्ने बताउनुभयो । यही वैशाख २५ देखि २८ गतेभित्रमा सम्पूर्ण मतदान स्थलमा सुरक्षाकर्मी खटिसक्ने छन् । 

 

स्थानीय तह निर्वाचनका लागि गत चैत १ गतेबाट नै सेनाले निर्वाचन सुरक्षा तयारी सञ्चालन गर्दै आएको छ । सैनिक प्रवक्ता नारायण सिलवालले केन्द्रदेखि जिल्ला तहसम्म निर्वाचन सुरक्षामा सेनाको सहभागिता रहेको बताउनुभयो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट