भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा ५ जनाको ज्यान गयो

  डेटूडे खबर डेस्क
  २१ वैशाख २०७९

                            

काठमाडौं ।भारतीय पर्यटक बोकेको गाडी र जिप ठक्कर खाँदा काभ्रेमा पाँच जनाको मृत्यु भएको छ।

भारतीय तीर्थयात्री बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको यात्रुबहाक जिप आज मध्यान्ह १२स्१५ बजे काभ्रेको रोशी गाउँपालिका बढुवेशीमा दुर्घटनामा परेको थियो।

प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ। ‘एक बालकसहित पाँच जनाको मृत्यु भएको छ,’ उनले सेतोपाटीसँग भने, ‘१८ जना घाइते छन्।’

युपी ५८ टी ८१८१ नम्बरको गाडी र ना १ ज ४२१० नम्बरको जिप ठक्कर खाएको थियो। दुर्घटनामा एक यात्रुको अवस्था गम्भीर छ भने १६ जना सामान्य घाइते छन्।

‘घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएका छौं,’ उनले भने।

दुर्घटनामा परेर सिन्धुली कमलामाई नगरपालिका ७ का ३० वर्षका विक्रम श्रेष्ठ, वडा नम्बर ४ का ४५ वर्षका हरिबहादुर बल, सुनकोशी गाउँपालिका १ की ४४ वर्षकी प्रमिला नेपाली, रामेछाप खडादेवी गाउँपालिका ८ की ३० वर्षीया सम्झना भुषाल र उनका सात वर्षका छोरा संगीत भुषालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १० जना भारतीय नागरिक घाइते छन्।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार भारतीय नागरिक बोकेको गाडी काठमाडौंबाट जनकपुरतर्फ जाँदै थियो।

‘जिप तीव्र गतिमा रहेकोले अनियन्त्रित भएर भारतीय नम्बर प्लेटको गाडीसँग ठक्कर खान पुगेको देखिन्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट