गृहमन्त्री गुरुङ विरुद्ध मानवअधिकार आयोगमा उजुरी
डेटूडे खबर डेस्क
०८ आषाढ़ २०८३
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ । सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्री गुरुङ गुरुङविरूद्ध उजुरी परेको हो।
हिरासत कक्षभित्रै मानसिक दबाब, ज्यान मार्ने धम्की तथा गम्भीर मानव अधिकार हनन् गरिएको हुँदा यथाशीघ्र स्थलगत अनुगमन तथा तत्काल छानबिन गरी मानव अधिकार सुनिश्चित गर्न भन्दै आयोगमा उजुरी परेको हो।
अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोकमा पुगेर उजुरी दर्ता गराएका छन् । उनीहरूले आफूहरूमाथि राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन् ।
निवेदनमा उल्लेख भए अनुसार, गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा समस्याका विषयमा भारतीय दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तको टोलीले पक्राउ गरेको थियो ।
हिरासतमा राखिएको करिब आधा घण्टापछि गुरुङको नेतृत्वमा आएको एक टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र प्रवेश गरेको दाबी गरिएको छ । निवेदनमा आयोगको विशेष टोलीले सोह्रखुट्टे प्रहरी वृत्तमा रहेका पीडितहरूको बयान लिइ घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने, त्यसदिनको सीसीटीभी फुटेज, आगन्तुक अभिलेख नियन्त्रणमा लिनुपर्ने माग गरिएको छ ।
