माओवादीले मधेशमा नयाँ रेकर्ड राख्नुपर्छ : पुष्पकमल दाहाल प्रचण्ड

  डेटूडे खबर डेस्क
  २४ वैशाख २०७९

                            

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनमा मधेशले नयाँ रेकर्ड राख्नुपर्ने बताएका छन्। धनुषाको मिथिला विहारी नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले हामी तेस्रो निर्वाचन प्रक्रियामा प्रवेश गर्दैछौं, यो निर्वाचनबाट माओवादीले मधेशमा नयाँ रेकर्ड राख्नुपर्छ।’

मधेशी जनताकै मत पाएर आफू दोस्रोपटक प्रधानमन्त्री बनेको समेत बताए। प्रचण्डले भने, ‘मैले ७० को निर्वाचन मधेशबाटै लडें। मधेशी जनसमुदायको मत पाएरै निर्वाचित भएँ र दोस्रोपटक प्रधानमन्त्री पनि मधेशी जनताको मतकै कारणले भएको थिए।’

अहिलेको परिर्वतन माओवादीले नै ल्याएको उनको भनाइ छ। मधेशी जनताको आवश्यकतालाई सम्बोधन गर्न आफूले धेरै मेहनत गरेको समेत बताए। प्रचण्डले भने, ‘परिवर्तन ल्याउने माओवादीले तर चुनाव जित्ने परिर्वतन विरोधीले भयो। परिवर्तनको बाहक र मधेशी जनताको सुख दुखको साथी माओवादी नै हो। माओवादीकै कारणले मधेशमा जागरण पनि आएको छ।’

मधेशी किसानलाई लक्षित बजेटबारे आफूले बिहानमात्रै अर्थमन्त्रीसँग छलफल गरेको बताए। ‘मधेशी जनताको हक अधिकारको लागि र मधेशको किसानको लागि मैले अर्थमन्त्रीसँग आज बिहान मात्रै कुरा गरेको थिए। किसानलाई पेन्सन दिने नभए अनुदानसम्म दिनेगरी छलफल गरेको छौँ। तपाईंहरुलाई केही न केही हामीले नयाँ योजना लिएर आउने छौँ’ प्रचण्डको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट