६ दिनका लागि सबै विद्यालयमा बिदा
डेटूडे खबर डेस्क
२८ वैशाख २०७९
सरकारले बुधवारबाट ६ दिनका लागि विद्यालयमा बिदा दिएको छ । मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय बुधबारबाट ६ दिन बन्द हुने भएका हुन्। सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। तर शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो।
शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले आजबाट सबै विद्यालय बन्द हुने जानकारी दिनुभयो । उहाँले आधाभन्दा बढी विद्यालयमा मतदान केन्द्र रहेको र बाँकी रहेका विद्यालयका शिक्षक पनि मतदान गर्न आफ्नो जिल्ला जानुपर्ने र केही शिक्षक मतदान केन्द्रमा खटिनुपर्ने भएकाले आजबाट बिदा दिइएको बताउनुभयो ।
हाल देशभर करिब २७ हजार सामुदायिक विद्यालय र करिब ८ हजार निजी विद्यालय छन्। सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन्। सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ।