सर्लाहीकाे बरहथवा नगरपालिका–१७ मा फेरि मतदान हुने

डेटूडे खबर डेस्क
३१ वैशाख २०७९
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–१७ मा फेरि मतदान हुने भएको छ । निर्वाचन आयोगले यस वडामा फेरि मतदान गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालय बरहथवाले सर्वदलीय बैठक राखेर त्यहाँ मतदानको मिति तोक्ने छ ।
जनता समाजवादी पार्टीले आफू पक्षीय मतदातालाई शुक्रवार बिहानै मतदान गराएपछि दिउँसाेदेखि भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेदवारले आरोप लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृतको कार्यालय बरहथवामा दर्ता गराएको संयुक्त लिखित निवेदनमा जसपाका उम्मेदवार रामविश्वास राय लगायतले नेकपा (माओवादी केन्द्र) का वीरेन्द्र राय लगायतलाई मरणासन्न हुनेगरी कुटपिट गरेको उल्लेख गरिएको छ ।
यस वडाको आधारभूत विद्यालय परोरिया मतदान स्थलअन्तर्गत दुई मतदान केन्द्रमा जम्मा १ हजार ९ सय ५४ मतदाता भए पनि त्यहाँ शुक्रवार बेलुकासम्म ३ सय ७२ मत मात्र खसेको थियो । वडाको विवादका कारण बरहथवा नगरपालिकाको मतगणना हुन सकेको थिएन ।
बरहथवाका निर्वाचन अधिकृत दशरथ पङ्गेनीले प्रचलित ऐन, नियमअनुसार सर्वदलीय बैठक राखेपछि यस वडामा फेरि मतदानको मिति तय गरिने छ ।