धनुषाको धनौजीमा मतपत्रको विवाद हुँदा ८ राउण्ड हवाइ फायर

  डेटूडे खबर डेस्क
  ०२ जेठ २०७९

                            

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा खसेको मतभन्दा बढी मत मतपेटिकामा फेलापरेपछि मतगणना स्थगित छ ।

मतदानको दिन मतखसेपछि मतदान अधिकृतले फिल्डबाट पठाएको रिपोर्टभन्दा १५ मत बढी फेला परेपछि उत्पन्न भएको विवादले उग्ररुप लिएको छ ।

धनौजी स्थित मतगणना स्थलमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले भने अवस्थालाई नियन्त्रणमा लिनका लागि हवाई फायर गरेको छ ।

प्रहरीले ८ राउन्ड हवाई फायर र एक राउन्ड अश्रुग्यास फायर गरेको धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।

निर्वाचन अधिकृत पोषराज खनालका अनुसार मतपेटिकामा भनिएको भन्दा १५ वटा मत बढी फेला परेको भन्दै उम्मेदवार तथा प्रतिनिधिहरुले हो हल्ला गरेको थियो ।

उनले भने, ‘मतपेटिकामा मतखसेको भन्दा बढी बढी मत फेला परेको छ । निर्वाचन सम्बन्धी ऐनले मतपेटिकामा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहेपनि यसलाई वेवास्ता गरेपछि विवाद हुँदा मतगणना स्थगित छ ।’

धनौजी २ मा १ हजार ६९४ मत हुनुपर्नेमा त्यसभन्दा बढी मत मतपेटिकामा फेला परेको हो ।

मतगणनाको अन्तिम परिणाम सम्म अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार साह १५१४ मत सहित पहिलो स्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्वन्दी लोसपाका जिवेन्द्र झा १ हजार मत सहित दोस्रो स्थानमा रहेका छन् ।

काङ्ग्रेस मौन छन् भने लोसपा, एमालेलगायतका दलहरु आन्दोलित भएका छन् । उनिहरुका अनुसार ४५ वटा मत हेर फेर गरिएको आरोप निर्वाचन अधिकृत माथी लगाएका छन् ।

 
 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट