लुटपाट पछि घरमा आगजनी, ५० लाख भन्दा बढीको क्षति
डेटूडे खबर डेस्क
०४ जेठ २०७९
जनकपुरधाम । अज्ञात समूहले जनकपुरधाम उपमहानगरपालिका-४ को एक घरमा लुटपाट गरी आगजनी गरेको छ ।
जउनपा ४, कटैया चौरी स्थित अजय साहको घरमा लुटपाट गर्दै आगजनी गरेको पीडित साहले बताए । साहको घर रहे पनि मनरा शिस्वा नपा-९ बथनाहाका राजकुमार झा परिवार सहित बस्दै आएका थिए ।
आगजनीमा परी तीन वटा एसी,फ्रीज,लुगा फाटो, अलमिरा , सोफासेट,एलईडी लगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ । आगजनीमा कोठाको झ्याल , ढोका भेन्टिलेटर लगायतका सामानहरु समेत जलेर नष्ट भएको छ ।
आगजनी अघि अज्ञात समूहले मेडिकल व्यवसायी झाको डेढ लाख नगद , पांच तोला सुनको गहना , दश तोला चांदीको गहना तथा केही अन्य सामानहरु चोरेर लगेको छ ।
घटना राती भए पनि बुधवार बिहान मात्रै स्थानीयवासीहरुले देखे पछि झाको परिवारजनलाई खबर गरेका थिए ।
झा अहिले भारत तर्फ तीर्थयात्रामा गएको बेला घरमा कोही नरहेको समयमा बाहिर ग्रीलको ताल्चा काटेर भित्र पट्टि फ्ल्याटको ढोका तोडेर लुटपाट मचाउँदै आगजनी गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
यस प्रकारको घटना हुँदा पनि प्रहरीले सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह उठेको छ ।