रौतहटमा दुई नगरपालिका प्रमुख महिला
डेटूडे खबर डेस्क
०८ जेठ २०७९
रौतहट । रौतहटका दुई स्थानीय तहका प्रमुख पदमा महिला निर्वाचित भएका छन्।
जिल्लाको मौलापुर नगरपालिकाको प्रमुखमा रिनाकुमारी साह र ईशनाथ नगरपालिकाको प्रमुखमा कौशिल्या देवी निर्वाचित भएका हुन्। मौलापुरमा नेकपा एमालेबाट रिनाकुमारी र ईशनाथमा लोकतान्त्रिक समाजवादी पार्टीबाट कौशिल्या निर्वाचित भएका हुन्।
२०७४ सालमा मौलापुर नगरपालिकामा तत्कालीन नेकपा माओवादीबाट रिना प्रमुख पदमा निर्वाचित हुँदा मधेश प्रदेशकै पहिलो महिला मेयर रहेकी थिइन्। रिनाकुमारी पुनः २०७९ वैशाख ३० को निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित हुँदै मेयर पदमा दोर्याएर विजय प्राप्त गरेकी छन्। पुरुष प्रधान समाजमा रौतहटका दुई स्थानीय तहको प्रमुखमा महिला र उपप्रमुखमा पुरुष निर्वाचित भएपछि परिवर्तनको झझल्को प्रष्ट हुन थालेका छन्।
रौतहटले महिला पुरुष बराबरको हिस्सेदारी भएर अघि बढ्नुपर्ने सन्देश दिएको छ। रौतहटमा १८ स्थानीय तह रहेका छन्। तीमध्ये दुई पालिकामा महिला विजयी भएका छन्। १६ पालिका प्रमुखमा विभिन्न पार्टीबाट पुरुष आउने सम्भावना छ।
महिला पुरुष समान रूपमा अघि बढेमा विकास निर्माणको कार्यमा समेत गति लिने र उक्त स्थानको मुहार फेर्नमा सकारात्मक भूमिका निर्वाह गर्न सकिने ज्येष्ठ नागरिक संघका अध्यक्ष विजयकिशोर झाको कथन छ। विकास निर्माणमा महिला पुरुष साथ साथ अघि बढे समाज परिवर्तन हुँदै सुखी र समृद्ध बन्न सकिने भएकाले सकारात्मक सोचका साथ अघि बढेमा मात्रै विकसित समाजको परिकल्पना गर्न सकिने उनले बताए।