ड्रोनबाट बिषादी छर्दैै किसान

डेटूडे खबर डेस्क
०९ जेठ २०७९
चितवन । चितवनमा विषादी छर्न ड्रोनको प्रयोग गर्न थालिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यायन्यन इकाई चितवनले ८५ प्रतिशतमा ड्रोन खरिद गरिदिएपछि यहाँका किसानहरुले विषादी छर्न ड्रोनको प्रयोग गर्न थालेका हुन् ।
परियोजनाले परिक्षणका रुपमा शनिवार खैरहनी नगरपालिका १३ स्थित गवईमा धानमा विषादी छरेको छ । चितवनमा अत्याधुनिक प्रविधि ड्रोनबाट पहिलोपटक विषादी छरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख धनबहादुर थापाले जानकारी दिनुभयो । ‘कृषि जन्य वस्तुको उत्पादन बढाउन र लागत घटाउन चितवनमा परिक्षणको रुपमा पहिलो पटक ड्रोनबाट बिषादी छरिएको छ,’ उहाँले भन्नुभयो, ‘यस प्रविधिले सफलता पाएमा अन्य ठाउँमा प्रयोग गर्नेछौँ ।’ धान, तोरी, गहुँ लगायतका बालीमा किसानहरुले लागत अनुसार प्रतिफल नपाइरहेको अवस्थामा प्रविधिको प्रयोग गर्र्दै जाने बताउनुभयो । यस ड्रोनबाट धान, तरकारी, केरा, मेवा लगायतका बालिमा बिषादीसंगै माइक्रोन्यूटेन र नाइट्रोजनहरु छर्न सकिने उहाँले बताउनुभयो ।
ड्रोनबाट बिषादी प्रयोग गर्दा लागत मुल्य र बिषादीको समेत कम प्रयोग हुने बताईएको छ । वातावरणिय हिसाबले पनि फाइदा पुग्ने कार्यायलका कृषि अधिकृत माधव पौडेलले जानकारी दिनुभयो । ‘किसानहरुले ट्याङ्गीबाट बिषादी छर्दा क्यान्सरजस्ता रोगहरु लाग्ने सम्भावना हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘ड्रोनबाट छर्दा रोगहरुबाट बच्न सकिन्छ ।’ यस प्रविधिबाट बिषादी पनि कम लाग्ने उहाँले बताउनुभयो । ‘किसानहरुले एक कठ्ठामा ३० लिटर प्रयोग गर्नुहुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘३० लिटरले एक विघामा पुग्छ ।’
अत्याधुनिक प्रविधि ड्रोनबाट विषादी छर्दा किसानहरु समेत उत्साहित भएका छन् । खैरहनी १३का सुर्यबहादुर बोगर्टी विषादी छर्ने खेतला नपाउने अवस्थामा ड्रोनले छर्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘२ विघामा बिषादी छरेको ३ हजार तिर्नुपथ्यो,’ उहाँले भन्नुभयो, ‘बिषादी पनि कम लाग्ने भएपछि खुशी छु ।’