अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न बनिरहेको प्रविधि अन्तिम चरणमा

  डेटूडे खबर डेस्क
  १८ आषाढ़ २०७९

                            

जनकपुरधाम | निर्वाचन आयोगले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने प्रविधि अन्तिम चरणमा पुगेको जनाएको छ ।

आयोगका अनुसार अनलाइनबाट विवरण भर्न मिल्ने गरी सफ्टवेयर तयार भइसकेको छ भने अरु केही प्राविधिक काम बाँकी रहेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अबको हप्ता, १० दिनभित्र अनलाइन प्रणाली तयार हुने जानकारी दिनुभयो । आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

आयोगकाअनुसार मोबाइलबाटै आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ । विवरणसहितका कागजात अपलोड गरेपछि व्यक्तिका मोबाइलमा नम्बर उपलब्ध हुनेछ । यो नम्बरका आधारमा सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिक लिएर प्रमाणीकरण गरी नामावली दर्ता गरिदिनेछ ।

अनलाइन प्रविधिको सुविधा भएपछि अरु विवरण घरबाटै भर्न मिले पनि प्रमाणीकरणका लागि एक पटक सम्बन्धित कार्यालयमा भने पुग्नैपर्ने आयोगले जनाएको छ । आउँदो चुनावका लागि अहिले मतदाता नामावली सङ्कलनको काम भइरहेको छ ।

अहिले अनलाइन प्रविधि तयार भइनसकेकाले मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि निर्वाचन कार्यालयमै जानुपर्छ । आयोगले चुनावको मिति घोषणा नहुँदासम्म मतदाता नामावली दर्ता र अद्यावधिक गर्न सकिने जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट