प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

  डेटूडे खबर डेस्क
  २० श्रावण २०७९

                            

काठमाडौँ । सत्तारुढ गठबन्धनका पाँच दलले चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार तालमेल व्यवस्थित र न्यायपूर्ण गर्ने सहमति भएको छ । ‘माइन्यूटली वर्कआउट गरेर टुंगोमा पुग्छौं,’ उहाँले भन्नुभयो ।

बैठकपछि जारी संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गर्‍यो ।’

विज्ञप्तीमा कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदलसमेत बनेको छ ।

कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन हुनुहुन्छ ।

नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय प्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

NTV को सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट