जलवायु परिवर्तनका कारण डेंगुलगायतका अन्य कीटजन्य रोग नेपालमा फैलने क्रममा

  डेटूडे खबर डेस्क
  २१ भदौ २०७९

                            

काठमाडौँ — पहाडी क्षेत्रमा तापक्रम र वर्षामा हुने फेरबदलले डेंगु भेक्टर (डेंगु जीवाणुवाहक लामखुट्टे) फैलावटमा प्रत्यक्ष असर पुर्‍याउने नेपाली अनुसन्धानकर्ताको एक अध्ययनले देखाएको छ । तराई क्षेत्रमा भने सापेक्षिक आद्रताको मात्राले डेंगु भेक्टर फैलावटमा असर पुग्ने उनीहरूको निष्कर्ष छ ।

नेपालको तराई र पहाडी क्षेत्रमा हावापानीमा हुने फेरबदलले डेंगु भेक्टर फैलावटमा के कस्तो असर पार्छ भन्ने सम्बन्धमा पारासाइट्स एन्ड भेक्टर जर्नलमा प्रकाशित आलेखले यस्तो निष्कर्ष निकालेको हो । त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभागकी सहप्राध्यापक रेश्मा तुलाधरसहित ७ जनाले गरेको अनुसन्धानले सहरी क्षेत्रमा संकलन गरेर राखिने पानी, फोहोर विसर्जन, सरसफाइ र नियन्त्रणका उपाय अपनाउन सुझावसमेत दिएको छ ।

डेंगु रोग एडिज एजिप्टी र एडिज एल्बोपिक्टस प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ । नेपालको सन्दर्भमा जुलाई/अगस्टमा यसको संक्रमण देखिने र सेप्टेम्बर/अक्टोबरमा प्रकोप उच्च बिन्दुमा पुगेपछि बिस्तारै घट्ने अनुसन्धानले देखाउँछ । सन् २०१९ पछि यो वर्ष डेंगु प्रकोपका रूपमा देखापरेको हो । यसअघि अन्य स्थान हुँदै उपत्यकामा डेंगु देखिन्थ्यो । तर यसपटक काठमाडौंमा पहिलो पटक देखिएर अन्यत्र डेंगुका बिरामी देखिएका हुन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार जलवायु परिवर्तनका कारण डेंगुलगायतका अन्य कीटजन्य रोग नेपालमा फैलने क्रममा छ । परिषद्मा प्रमुख अनुसन्धान अधिकृत एवं वातावरण स्वास्थ्य विज्ञ मेघनाथ धिमालले काठमाडौंमा देखिएको डेंगुको प्रकोप पछिल्लो मनसुनमा आएको फेरबदलको एक कारण भएको बताए । केही दिन पानी पर्ने अनि घाम लाग्ने र तापक्रममा आउने उतारचढावले डेंगु भेक्टरको संख्या बढ्न मद्दत पुर्‍याइरहेको नेपाली अनुसन्धानकर्ताहरूको निष्कर्ष छ ।

सन् २०२१ मा एड्भान्स इन क्लाइमेट रिसर्च जर्नलमा प्रकाशित उनको अनुसन्धानले पहाडी जिल्लामा डेंगुको संक्रमण सन् २०५० सम्म बढ्ने र २०७० को दशकमा दोब्बर भइसक्ने प्रक्षेपण गरेको छ । सन् २००४ मा पहिलो पटक चितवनमा डेंगु रेकर्ड भएको थियो । त्यसपछि २००६ मा तराईका ९ जिल्लामा फैलिएको रेकर्ड छ । काठमाडौंमा २००९ मा डेंगु सार्ने लामखुट्टे एडिज एजिप्टीको पहिचान भएको थियो । काठमाडौंमा भने २०१० मा पहिलो पटक डेंगु संक्रमण पुष्टि भएको हो । त्यसबेला ९ सय १७, २०१३ मा ६ सय ८३ र २०१६ मा १५ सय २७ र सन् २०१९ मा १५ हजारभन्दा बढीमा डेंगु संक्रमण भएको थियो ।

विभिन्न अनुसन्धानमा डेंगु सार्ने भेक्टर २० देखि ३० डिग्री तापक्रममा सक्रिय हुन्छन् । २५ देखि २६ डिग्री तापक्रममा सबैभन्दा बढी सक्रिय हुने विज्ञहरू बताउँछन् । सहप्राध्यापक रेश्मा तुलाधारका अनुसार यो लामखुट्टेले एक पटकमा ६ जनासम्मलाई टोक्ने गरेको पाइन्छ । तापक्रम बढ्दै जाँदा टोक्ने दर पनि बढ्ने र वृद्धि पनि त्यही अनुपातमा हुने उनले बताइन् । ३५ डिग्री तापक्रम नाघेपछि डेंगु कम सक्रिय बन्ने उनको भनाइ छ ।

धिमालका अनुसार उपयुक्त तापक्रममा लामखुट्टेको पाचन प्रक्रियासँगै प्रजनन पनि छिटोछिटो हुन्छ, करिब १० दिनमा जीवनचक्र पूरा हुन्छ । पहाडी भेगमा भने दुई सातामा जीवनचक्र पूरा हुने गरेको पाइएको छ । काठमाडौंको हकमा लामखुट्टेका लागि चाहिने वातावरण धेरै राम्रो भएकाले वृद्धिदर बढिरहेको धिमाल बताउँछन् । साता–दस दिनसम्ममा यिनले जीवनचक्र पूरा गर्छन् ।

त्रिभुवन विश्वविद्यालय माइक्रो बायोलोजी केन्द्रीय विभागका सहप्राध्यापक मेघराज बन्जरा अव्यवस्थित बसाइँसराइले पनि रोग बढ्दै गएको बताउँछन् । पहाडी क्षेत्रमा नपाइने यो प्रजाति पहाड चढेको उनको भनाइ छ । उनका अनुसार डेंगु फैलाउने लामखुट्टेमा ‘ट्रान्स ओभरियन ट्रान्समिसन’ हुन्छ । डेंगु भाइरस बोकेको लामखुट्टेले फुल पार्दा ती फुलमा भाइरस सर्छ ।

काठमाडौं महानगरपालिकाले डेंगु संक्रमण बढेसँगै जनचेतना र स्वास्थ्य परीक्षणमा जोड दिएको छ । महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले विद्यालय र समुदायमा आधारित सचेतना कार्यक्रम गरिरहेको बताए । महानगरले सोमबारदेखि १९, २६, ३० र ८ नम्बर वडामा निःशुल्क रूपमा डेंगु परीक्षण गर्न थालेको छ । डेंगु नियन्त्रणमा १ सय १५ जना स्वास्थ्यकर्मी, ५ सय ५८ स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको त्रिपाठीले बताए ।

काठमाडौं उपत्यकालगायत देशभर डेंगुको संक्रमण अझै अढाई महिनासम्म रहने विज्ञहरूले चेतावनी दिएका छन् । हरेक दुई–तीन वर्षमा मुलुकमा डेंगुको प्रकोप देखिने गरेकामा तीन वर्षपछि पुनः यसको संक्रमणले यसपालि अत्यधिक विस्तार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले अबको अढाई महिनासम्म संक्रमण देखिने बताए ।

सोमबार साँझसम्म ७५ जिल्लामै डेंगु संक्रमण पुष्टि भएको छ । हाल ५ हजार २९ जना संक्रमित छन् भने १० जिल्ला बढी प्रभावित छन् । कुल संक्रमितमध्ये ७६ प्रतिशतभन्दा बढी ललितपुर, काठमाडौं र मकवानपुरमा छन् । यी जिल्लाबाहेक रूपन्देही, धादिङ, भक्तपुर, तेह्रथुम, सिन्धुली, गुल्मी, संखुवासभामा बढी संक्रमण देखिएको छ । हालसम्म देशभर पुष्टि भएका संक्रमितमध्ये ८४ प्रतिशत यिनै १० जिल्लामा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट