उपप्रमुख डंगोलको १०० दिनको काम सार्वजनिक
डेटूडे खबर डेस्क
२२ भदौ २०७९
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका कामको विवरण सर्वजनिक गरेकी छन्। डंगोलले सार्वजनिक गरेको विवरणमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ।
महानगरपालिकाले गरेका कामलाई संख्यामा गन्नुभन्दा पनि हिजो र आजको परिवर्तनलाई नै सफलता मान्नुपर्ने उनको भनाइ थियो। पुराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाइ भएको र ५१ वटा विवादको किनारा लगाएको उल्लेख गरेको छ। वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९÷८० का लागि नीति तथा कार्यक्रमको प्रस्ताव तयार समेत उल्लेख गरेको छ।
सय दिनमा सय बढी कार्यक्रममा महानगरवासी सँगसँगै रहेको र महानगरवासी सँग प्रत्यक्ष अन्तरक्रिया गरी सुझाव लिने, समस्या बुझ्ने कार्य गरिएको उल्लेख गर्दै त्यसले महानगरवासीसँगै रहेर महानगरका समस्याका बारेमा साक्षात्कार हुने अवसर प्राप्त भएको बताएकी छिन्।
फोहोर व्यवस्थापनका लागि सकारात्मक पहल सुरु गरेको ‘महानगर प्रमुखसहित मेरो प्रत्यक्ष उपस्थितिमा नुवाकोट जिल्लाको सिसडोल र नुवाकोटकै बञ्चरेडाँडा, टेकुस्थित ‘ट्रान्सफर स्टेशन’ लगायतका क्षेत्रको अनुगमन गर्ने र त्यहाँको वस्तुस्थिति बुझ्ने काम भएको उल्लेख गरिएको छ।पटक–पटकको प्रयासपछि सिसडोल र बञ्चरेडाँडामा अल्पकालिन फोहोर व्यवस्थापन गर्ने कार्य भएको छ। दीर्घकालिन फोहोर व्यवस्थापनका लागि छिमेकी नगर ठिमी लगायतका पालिकाले गरेका योजनाको अवलोकन गर्ने र अनुभवलाई ग्रहण गर्दै दीर्घकालिन फाहोर व्यवस्थापनका लागि आवश्यक काम गर्ने बताएकी छिन्।
महानगरलाई स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने मेरो चुनावी एजेण्डाप्रति सजग र सचेत रहेको बताएकी छिन्। त्यसैगरी मेलमिलाप कर्ता छनौट प्रक्रिया, मानव बेचबिखन ओसारपसार नियन्त्रणको प्रयास, शिक्षा क्षेत्रमा गरेका सुधारका प्रयास, इन्द्र जात्रालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न गरेका पहल, नेपालभाषाको डिजिटल शब्दकोष निर्माण कार्य, सम्पदा संरक्षण, पुनर्निर्माण र अनुगमन कार्यलाई प्राथमिकता जस्ता कुरालाई पनि १ सय दिनमा गरेका कामको विवरणमा उल्लेख गरेकी छन्।