समानुपतिक बन्दसूची संशोधनको समय सीमा आज सकिँदै
डेटूडे खबर डेस्क
१६ असोज २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची संशोधनको समय सीमा सकिँदै छ । असोज २ र ३ गते निर्वाचन आयोगमा पेस गरिएको उम्मेदवारको बन्दसूचीमाथि दलहरूले आज संशोधित सूची बुझाउन आज अन्तिम दिने हो ।
आयोगले आज (१६ गते)भित्र संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह गरिसकेको छ । आयोगले बन्दसूचीको प्रस्तावमाथि जाँचबुझ गरी संशोधनका लागि असोज ४ देखि ९ गतेसम्म सूची पेस गर्न राजनीतिक दलहरूलाई भनेको थियो ।
आयोगको आग्रह बमोजिम दलले असोज १० देखि १६ गतेसम्म परिमार्जित सूची पेस गर्दै छन् । सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले सात दिनभित्र संशोधन पेस गर्नुपर्ने हुन्छ ।
संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ गते बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन दिने सक्ने आयोगले जनाएको छ । यस्तै सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारी फिर्ताबारे सम्बन्धित दललाई जानकारी दिने छ ।
आयोगका अनुसार असोज २० गतेदेखि २२ गते ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएका कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्का उम्मेदवार मनोनयन गर्नुपर्ने कार्यक्रम रहेको छ ।