मधेश सरकारबाट कांग्रेसका ३ मन्त्री बर्खास्त
डेटूडे खबर डेस्क
२८ असोज २०७९
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् । कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरु २६ जेठ २०७८ मा नियुक्त भएका थिए ।
३ मन्त्री बर्खास्त गरेको पत्र मुख्यमन्त्री राउतले प्रदेश प्रमुख कार्यालयमा पठाएका छन् । ती मन्त्रालयहरुको जिम्मेवारी अब मुख्यमन्त्री राउतले नै सम्हाल्ने छन । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेपछि राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका हुन् । आगामी चुनावमा जसपाले एमालेसँग सहकार्य गरेपछि गठबन्धनले मन्त्री हटाएको थियो ।