प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने
डेटूडे खबर डेस्क
१८ पौष २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन् । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका थिए ।
विभिन्न सात राजनीतिक दल र तीन स्वतन्त्र सासंद गरी कूल एक सय ६९ सांसदको समर्थनमा तेस्रो पटक सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री बनेका दाहालले पुस २६ गते विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले सङ्घीय संसद् सचिवालयलाई पत्राचार गर्दै विश्वासको मत प्राप्त गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए ।
पाण्डेले भने, “प्रधानमन्त्रीले पत्राचार गरेर नै कार्यसूचीमा समावेश गरिदिन भनेर आग्रह गरेका छ । सचिवालयका तर्फबाट हामीले आवश्यक व्यवस्थापन गर्छौँ।”
नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही उपधाराको ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ। प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय छ । प्रत्यक्ष कूल एक सय ६५ र समानुपातिकतर्फबाट एक सय १० सांसद छन् । मनाङका सांसद टेकबहादुर गुरुङ भने हाल निलम्वनमा परेका छन् ।