रवि लामिछानेले लिए नेपाली नागरिकता

  डेटूडे खबर डेस्क
  १५ माघ २०७९

                            

पूर्वगृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र उनले आज दिउँसो नागरिकता लिएको जानकारी दिइन् । साढे ११ बजेतिर कार्यालय पुगेका लामिछानेले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उनले सांसद, मन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको पद खारेज भएको थियो।

उनले आज प्रक्रिया पूरा गरी पुनः नागरिकता लिएका हुन् । अमेरिकी नागरिकता त्यागे पनि लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि निवेदन दिएका थिएनन् ।

लामिछाने गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट