पहिलो जितको खोजीमा दिल्ली र मुम्बई

  डेटूडे खबर डेस्क
  २८ चैत्र २०७९

                            

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १६ औं खेलमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा दिल्लीको घरेलु मैदान अरुण जेट्लीमा सुरुहुनेछ।

दिल्ली ३ खेलमा जित विहीन हुँदै पुछारमा छ । मुम्बई २ खेलमा जित विहीन हुँदै नवौं स्थानमा छ । यस आइपिएलमा जित विहीन बन्ने दिल्ली र मुम्बई मात्रै दुई टोली हुन् । दुबै टोलीमा टि२० विशेष खेलाडी भएपनि ब्याटिङमा राम्रो गर्न सकेका छैनन् ।
दिल्ली लखनऊसँग ५० रन, गुजरात जायन्ट्ससँग ६ विकेट र राजस्थान रोयल्ससँग ५७ रनले पराजित भएको थियो । उता मुम्बई बेंगलोरसँग ८ विकेट र चेन्नई सुपर किंग्ससँग ७ विकेटले पराजित भएको थियो ।

दिल्लीका ओपनर तथा कप्तान डेविड वार्नरले तीन खेलमा ५६, ३७ र ६५ रन बनाएका छन् । तर सबै खेलमा उनले सुस्त गतीमा ब्याटिङ गरेका छन् । वार्नरलाई विना दबाब खुलेर खेल्न आवश्यक देखिन्छ । पृथ्वी शा सुुरुवाती तीन खेलमा चलेका छैनन् । उनीबाट आज उत्कृष्ट प्रदर्शन चाहन्छ ।

दिल्लीले आजको खेलमा फिलिप साल्टलाई मौका दिनसक्छ । इंग्लिस विकेटकिपर राम्रो ब्याटिङका लागि चिनिन्छन् । सुरुवाती तीन खेलमा ३०, ० र १४ रनमा आउट भएका राइली रोसोउको स्थानमा फिलिपले खेल्ने सम्भावना छ । रोभम्यान पावेललाई आज केहि माथि खेलाउन सक्छ ।

दिल्लीको मध्यक्रम कमजोरीको रुपमा छ । ललित यादव, मनिष पाण्डे र अभिषेक पोरेल मध्यक्रममा ब्याटर हुन् । दिल्लीको तीव्र गतिको बलरमा एनरिच नोर्किया छन् । नोर्कियालाई अन्यले साथ दिनुपर्ने हुन्छ । मुकेश कुमारले राम्रो प्रदर्शन गर्न सक्छन् । कुलदीप र अक्षर पटेल स्पिन हतियार हुन् ।

उता मुम्बई कप्तान रोहित शर्मा र ईशान किशानबाट उत्कृष्ट सुरुवात चाहन्छ । यी दुई मध्य एकबाट ठूलो इनिङ चाहन्छ । युवा ब्याटर क्यामरन ग्रीनलाई आजको खेलमा पनि निरन्तरता दिनेछ । अक्सनमा १७ करोड ५० लाख भारुमा किनेका क्यामरन ग्रीनलाई पनि राम्रो प्रदर्शनको दबाब छ ।

सूर्यकुमार यादवको खराब लय मुम्बईलाई भारी परेको छ । पछिल्लो समय सूर्यको लय राम्रो छैन । सुरुवाती दुई खेलमा १५ र १ रनमा आउट भएका छन् । युवा ब्याटर तिलक बर्माले भने राम्रो प्रदर्शन गरेका छन् । टिम डेविड र ट्रिस्टन स्टब्स मध्य एकको स्थानमा डेवाल्ड ब्रेभिसलाई मौका दिनसक्छ । बेबी एवी डिभिलियर्सको नामले चर्चित डेवाल्ड आक्रामक ब्याटिङका लागि चिनिन्छन् ।

जोफ्रा आर्चर प्रमुख तीव्र गतिका बलर हुन् । तर उनलाई अर्को एण्डबाट साथ दिने राम्रो बलर टोलीमा छैनन् । जस्प्रित बुमराह चोटका कारण बाहिरिएपछि मुम्बईलाई बलिङ आक्रामणमा ठूलो असर परेको छ।

लखनऊ ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ । राजस्थान रोयल्स ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । समान अंक र नतिजा भएपनि नेटरनरेटको कारण क्रमश : कोलकाता तेस्रो, गुजरात चौथो, चेन्नई पाँचौं र पन्जाब छैटौं स्थानमा छन् । बेंगलोर ३ खेलमा १ मा जित र २ मा हारसहित सातौं स्थानमा छ । समान खेल र नतिजा भएपनि हैदराबाद आठौं स्थानमा छ ।

हेड टु हेड :

आइपिएलमा मुम्बई र दिल्लीबीच कुल ३२ खेल भएका छन् । दिल्ली १५ र मुम्बई १७ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा दिल्ली तीन र मुम्बई दुई खेलमा विजयी भएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट