मेयर बालेनको अराजक अभिव्यक्ति र गतिविधिमा सरकारको एक्सन

  डेटूडे खबर डेस्क
  २९ चैत्र २०७९

                            

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अराजक गतिविधिप्रति सरकारले एक्शन लिने चेतावनी दिएको छ । शनिबारबाट सिंहदरबार र राष्ट्रपति भवनमा फोहोर उठाउन बन्द गर्ने निर्देशन मेयर साहले फेसबुकमार्फत दिएपछि सिंहदरबार, शीतल निवाससहितका संवेदनशील ठाउँहरूमा फोहोर थुप्रिन थालेको छ।

मेयर साहले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर यस्तो अराजक गतिविधिमा आफूलाई संलग्न गराएपछि सरकारले एक्शन लिने चेतावनी दिएको हो । आजको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर साहलाई सचेत गराउने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखले घोषणा नीतिगत व्यवस्थाविरूद्ध रहेको जानकारी दिनुभयो । उहाँले बैठकमा नीतिगत व्यवस्था अनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताउनुभयो ।

‘सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठेकोबारे बैठकमा छलफल भयो,’ उहाँले भन्नुभयो, ‘यसको समाधानका लागि पहल गर्ने तथा नीतिगत व्यवस्था पालना गर्न गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने कुरा भएको छ ।’

मेयर साहका अभिव्यक्तिहरु अराजकतातर्फ केन्द्रित रहेको विषयमा समेत बैठकमा छलफल भएको उहाँले बताउनुभयो । सार्वजनिक पदमा बसेपछि पदको गरिमालाई ख्याल गर्नुपर्ने हुन्छ । तर, साहले आफ्नो पदीय गरिमालाई समेत ख्याल नगरी अराजक टिप्पणी गरेपछि उहाँको सर्वत्र आलोचना भएको छ ।

‘साँच्चिकै देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्छ’ भनेर मेयर साहले अराजक र अराजनीतिक अभिव्यक्ति दिनुभएको थियो । काम गर्ने सिलसिलामा कमजोरी हुन्छन् । तर, पदीय जिम्मेवारीमा रहेका व्यक्तिका त्यस्ता स्तरहीन टिप्पणी गलत संस्कार हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट