रास्वपा सरकारमा नजाने‚ समर्थन फिर्ता लिने

  डेटूडे खबर डेस्क
  २३ वैशाख २०८०

                            

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठबन्धन सरकारमा सहभागी नहुने भएको छ। साथै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ।

संसदको चौथो ठूलो दल रास्वपाको शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र समर्थन फिर्ता लिने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षमा बस्ने जानकारी दिए।

उनले संयुक्त बैठकबाट यो निर्णय गरेको बताए। उनले जनभावनाको कदर गर्दै आफूहरुले यस्तो निर्णय गरेको पनि बताए। उनले अब पार्टीले संसदमा सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। 

उनले अब पार्टीले संगठन विस्तारको प्रक्रिया द्रुतगतिमा अघि बढाउने बताए। अब संसदमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाइ थियो। 

सभापति लामिछानेले भुटानी शरणार्थीबारे सरकारले चालेको कदम स्वागतयोग्य रहेको र यसलाई निरन्तरता दिन्छ वा दिँदैन भनेर रास्वपाले नियालीरहेको बताए। 

रास्वपाभित्र सरकारमा जाने र नजाने दुई धार देखिएको थियो। गत सोमबार बसेको बैठकमा नै सरकारमा सहभागी हुने नहुनेबारे निर्णय गर्ने भनिए पनि दुई धार देखिएपछि बैठक ४ दिनका लागि पछि धकेलिएको थियो।

रास्वपा सभापति रवि लामिछाने गृह मन्त्रालय लिएर सरकारमा जाने तयारीमा रहँदा पार्टीभित्र सरकारमा सामेल नभएर प्रतिपक्षमा बस्नुपर्ने मत पनि ठूलो देखिएको थियो। आजको बैठकले गरेको निर्णयले प्रतिपक्षमा बस्नुपर्ने पक्षमा रहेकाहरुको बहुमत पार्टीमा शक्तिशाली देखिएको छ।

यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा रास्वपाले उपप्रधानसहित गृह, शिक्षा‚ विज्ञान तथा प्रविधि र श्रम‚ रोजगार तथा सामाजिक विकास मन्त्रालय पाएको थियो।

रास्वपाले भनेबमोजिम जुनसुकै कालखण्डका भ्रष्टाचारको फाइल खोल्ने सरकारको नीति तथा कार्यक्रम रहेकोमा अहिले सरकारले सो बुँदालगायत सुशासनका बुँदा हटाएको भन्दै सरकारबाट समर्थन फिर्ता लिएको हो।

राष्ट्रपति निर्वाचनमा पनि उसले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट