स्वच्छ र सुन्दर वीरगञ्ज बनाउने अभियान जारी

  डेटूडे खबर डेस्क
  २३ वैशाख २०८०

                            


विरगञ्ज । सफा, स्वच्छ र सुन्दर वीरगञ्ज महानगर बनाउने अभियानका साथ सरसफाइलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाहीको क्रम जारी राखेको छ ।

वीरगञ्ज महानगरपालिकाले आज जथाभावी फोहर फाल्ने एक जनालाई कारबाही गरी रु ५० हजार जरिवाना तिराएको छ । वीरगञ्जको बाइपास सडकखण्डअन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैंसीको सडेको हड्डी फालेर दुर्गन्ध फैलाउने शिवपुजन चौरसियालाई महानगरको टोलीले नियन्त्रणमा लिएर रु ५० हजार जरिवाना गरेको हो ।

वीरगञ्ज सहरलाई सफा र स्वच्छ राख्न सरसफाइ र सौन्दर्यकरण अभियानअन्तर्गत महानगरपालिकाले जथाभावी फोहर फाल्नेलाई नगद रु एक हजारदेखि ५१ हजारसम्म जरिवाना तिराउँदै आएको महानगरका प्रमुख राजेशमान सिंहले जनाएका छन् ।

महानगरले यसअघि वीरगञ्जकै सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहर गरेको भन्दै रु ५१ हजार जरिवाना गरेको थियो ।

वीरगञ्ज सहरको सरसफाइ र सौन्दर्यकरण अभियान चलाएको महानगरपालिकाले चार महिनाको अवधिमा शुक्रवारसम्म तीन सय ९० जनालाई कारबाही गरी जरिवानाबापत नौ लाख ६१ हजार पाँच सय रकम असुल गरेको महानगरको फोहरमैला व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट