अविरल वर्षापछि रौतहटका नदीको सतह बढ्यो, सचेत रहन प्रशासनको आग्रह

डेटूडे खबर डेस्क
२३ श्रावण २०८०
रौतहट । गएरातिदेखि परिरहेको अबिरल वर्षाको कारण रौतहट नदीहरुमा पानीको सतह बढेपछि स्थानिय प्रशासन सचेत रहन सर्वसाधरणलाई आग्रह गरेको छ । जिल्लाको प्रमुख नदीहरु बागमती र बकैयामा पानीको सतह खतरा रेखा पार गरेको थियो ।
बागमती नदीमा खतराको सतह ६.८ मिटर रहेकोमा मंगलबार बिहान ९ मिटरसम्म पुगेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए । पानी पर्ने क्रम केही समय रोकिएकाले अहिले सो नदीको सतह घट्दो क्रममा रहेको उनको भनाइ छ । उनका अनुसार दुर्गाभगवती गाउँपालिकामा रहेको बाँधको एक स्थान भत्कने अवस्था रहेकोमा सुरक्षाकर्मीको प्रयोग गरेर मर्मत गरिएको र जिल्लामा अहिलेसम्म अवस्था सामान्य रहेको छ ।बाढी पूर्वानुमान महाशाखाले दिउँसो २ बजेको तथ्याङ्क अनुसार रौतहट र सर्लाहीको सिमामा रहेको बागमती नदीको सतह ६.१३ मिटर रहेको छ । अहिले पानीको सतह घट्दो क्रममा रहेपनि सावधानी अपनाउन सर्वसाधरणलाई महाशाखाले आग्रह गरेको छ । बागमतीमा नदीमा पानीको सतह बढेपछि ब्यारेजको ३५ वटै ढोका खोलिएको छ ।
जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिका वडा नम्बर १ को नुनथरमा बागमती नदी पसेपछि स्थानियहरु सुरक्षित स्थानतर्फ सरेका छन् । चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय काफ्लेका अनुसार नुनथर क्षेत्रमा बागमती नदी पस्न थालेपछि स्थानियहरु रात्तीनै सुरक्षित स्थानतर्फ लागेकाले कुनै मानविय क्षति भने भएको छैन् । उनका अनुसार बागमती नदीको प्रवाह सलार्ही तर्फभन्दा पनि रौतहटतर्फ बढी भएकाले यसले रौतहटका क्षेत्रहरुमा जोखिम ल्याएको छ ।
यता चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैंडाटारमा चाँदी नदी गाउँतिर पस्ने जोखिम बढेको वडाध्यक्ष बोधनाथ देवकोटाले जानकारी दिए । उनका अनुसार तिलेश्वरनाथ पार्क क्षेत्रबाट चाँदी नदीले गाँउतर्फ रहेको बाँधको निरन्तर कटान गरेकाले गाउँका बाढी पस्ने जोखिम उच्च रहेको हो । नदीले बाँध कटान गर्न केही मिटर मात्र बाँकी रहेकोले नदीका पानीको वहाव कम भएपछि खोलाको धारलाई मेसिनको प्रयोग गरेर मोड्ने तयारी गरिरहेको उनले जानकारी दिए ।
यता जिल्लाको मौलापुर स्थित मर्यादपुर घाटमा फसेका एक युवकको करिब ४ घण्टापछि सकुशल उद्धार गरिएको छ । मौलापुर नगरपालिकाका नगर प्रमुख रिना साहले दिएको जानकारी अनुसार घाँस काट्न भनेर गएका देवाही गोनाहीका १७ वर्षिय कर्ण यादव अचानक बकैया नदीमा आएको बाढीको कारण नदीमा फसेका थिए । बाढी आएपछि रुखमा चढेर बसेका उनलाई प्रहरीले मौलापुर नगरपालिकाको डुङ्गा प्रयोग गरेर उद्धार गरिएको नगर प्रमुख साहले बताइन् ।