‘एसिया कप खेल्न पाकिस्तानको लागि प्रस्थान भए सन्दीप’

  न्यूज डेस्क
  ११ भदौ २०८०

                            

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले एसिया कपमा भारत र पाकिस्तानविरुद्ध खेल्न आफू एकदमै फिट र तयार भएको बताएका छन् । सोमबार पाकिस्तान प्रस्थान गर्नुअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरेका थिए । सन्दीपले विदाई कार्यक्रममा उक्त प्रतिक्रिया दिएका हुन् ।

‘पछिल्लो समय टिम राम्रो प्रदर्शन गरि राखेको छ । पाकिस्तानमा नेपालले एउटा अभ्यास खेलमा निकै उत्कृष्ट खेल खेलेको थियो । मैले आफ्नोतर्फबाट अभ्यास जसरी पनि हुन सक्थ्यो गरेको थिए। मैले आफ्नो उत्कृष्ट दिन खोजेको थिए । म खेल्नको लागि एकदमै फिट र तयार छु । आशा छ की एसिया कपमा एकदमै राम्रो गर्नेछौं’, सन्दीपले पाकिस्तान जानुअघि  भने ।

नेपाली टोली गत मंगलबार नै पाकिस्तान लागेको थियो । तर पछिल्लो एक वर्षदेखी १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा सन्दीपले मुद्धा खेप्दै आएका छन् । उनको मुद्धाको अन्तिम फैसला हुन सकेको छैन । जिल्ला अदालत काठमाडौंमा आइतबार पेशी हुँदा सन्दीप टोलीसँग जान पाएका थिएनन् । नेपालले पाकिस्तानसँग भदौ १३ मा खेल्नेछ । सन्दीप दोहा हुँदै आज पाकिस्तानको मुल्तानमा पुग्नेछन् ।

टिमसँगै अभ्यास गर्न नपाएपनि सन्दीपले ब्यक्तिगत रुपमा जारी राखेको बताए । ‘एकदमै कठिन समय भई राखेको छ । तरपनि कुनै न कुनै समयमा आफ्नो विकल्प खोजि राखेको हुनुपर्छ । चाहेँ त्यो अभ्यास गर्ने बेला होस् वा टिम बैठकको समयमा । आफूले मिलाउनु पर्ने हुन्छ । समय आफूले मिलाई राखेको छु । टिमसँगै अभ्यास गर्न नपाएपनि म एक्लैले गरि राखेको छु’, सन्दीपले भने ।

त्यसैमा उनले थपे, ‘कहिले काहिँ साथीहरु पनि आईदिरहेको हुन्छ । त्यो कुराहरुको लागि धेरै आभारी छु । एक अर्कालाई हामी धेरै वर्षदेखी चिन्छौं । टिममा जाने बितिक्कै घुलमिल हुन धेरै समय पनि लाग्दैन । सबै जना लयमा छौं । आशा गछौं कि हामी राम्रो गछौं ।’

नेपालले भारतसँग भने श्रीलंकाको कान्डीमा भदौ १८ मा खेल्नेछ । सन्दीप भारत र पाकिस्तानसँग खेल्न पाउनु सबै नेपालीको लागि गर्वको कुरा भएको बताउँछन् ।

‘भारत र पाकिस्तानसँग खेल्न पाउनु सबै नेपालीको लागि गर्वको कुरा हो । त्यो खेलमा हामी जित हार भन्दा पनि सिक्न सक्ने कुराहरु एकदमै महत्वपूर्ण हुनेछ । हामी हाम्रो दिल खोलेर खेल्ने छौं । हामीलाई जति आउँछ त्यो खेल्ने छौं । हाम्रो लागि खुसीको एउटा पर्व जस्तै हो । किनभने हामी सधैं यस्तो टोलीहरुसँग खेल्न पाउदैनौं । एक पटक खेलेपछि हामीले कसरी निरन्तरता दिने बारे अझै छलफल गरि राखेका छौं’, सन्दीपले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट